गैडाकोट । गुरुकुल शिक्षाको संरक्षण, संवद्र्धन, गुणस्तरीयता अभिवृद्धि तथा समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर परिसरमा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन आयोजना हुने भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा भोली कार्तिक २८ देखि ३० गतेसम्म तीनदिने सम्मेलन हुन लागेको हो । गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको सहयोग तथा मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुलम) को व्यवस्थापनमा सम्मेलन सञ्चालन हुने छ ।
नेपालको प्राचीन ज्ञानपरम्परा, वैदिक वाङ्मय, संस्कृत शिक्षा, मौलिक संस्कृति तथा नैतिक मूल्यहरूको संरक्षण र प्रवद्र्धनमा गुरुकुल शिक्षाले पु¥याएको योगदानलाई संस्थागत रूपमा थप सुदृढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजक समितिका सदस्य सचिव डा. रामचन्द्र कंडेलले बताउनुभएको छ ।
सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित गुरुकुलका प्रतिनिधि, नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापक, प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, धार्मिक तथा आध्यात्मिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र बुद्धिजीवीहरूको सहभागिता रहनेछ । उद्घाटन सत्रमा करिब २१६, दोस्रो दिन १०५ र समापन सत्रमा करिब १७९ जनाको सहभागिता रहने अनुमान गरिएको छ ।

तीनदिने सम्मेलनमा गुरुकुल शिक्षाको वर्तमान अवस्था, समस्या, चुनौती, सम्भावना, संस्थागत विकास, शैक्षिक गुणस्तर र आधुनिक शिक्षण पद्धतिका विषयमा गहन छलफल हुने कार्यक्रम रहेको छ । यसैगरी गुरुकुलको अवधारणा, इतिहास र परम्परा, नेपालमा गुरुकुलहरूको मूलप्रवाहीकरण, गण्डकी प्रदेशका गुरुकुलको विद्यमान अवस्था तथा अवसर र प्रचलित पाठ्यक्रमको समीक्षा एवं भावी आवश्यकतासम्बन्धी चारवटा कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
त्यस्तै संघीय, प्रदेश तथा स्थानीय सरकारका गुरुकुलसम्बन्धी नीति तथा कार्यक्रमको समीक्षा, अभिभावक र समुदायको सहभागिता, नेपाल संस्कृत विश्वविद्यालय र गुरुकुलबीच शैक्षिक तथा प्राज्ञिक सहकार्य, गुणस्तर सुनिश्चितता र प्राचीन मूल्य–मान्यतालाई आधुनिक प्रविधिसँग जोड्ने उपायबारे अन्तरक्रिया गरिनेछ ।
गुरु–शिष्य परम्परामा आधारित गुरुकुल शिक्षा वैदिक ज्ञान, दर्शन, संस्कृत साहित्य, व्याकरण, ज्योतिष, आयुर्वेद, योग, अध्यात्म तथा नैतिक शिक्षाको हस्तान्तरणसँग जोडिएको नेपालको प्राचीन शैक्षिक सम्पदा हो । हाल सरकारी निकायमा करिब २५० गुरुकुल दर्ता भएको र तीमध्ये करिब १५० सञ्चालनमा रहेको तथ्यांक विज्ञप्तिमा उल्लेख छ ।









