काठमाण्डौ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको प्लेअफमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई सात रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको हो । सुदूरपश्चिम जारी प्रतियोगितामा प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको छ ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।
काठमान्डुका लागि राशिद खानले अविजित ३५, दुशान हेमन्तले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन बनाए । सुदूरपश्चिमका लागि अनिल खरेलले दुई विकेट लिए । स्कट कुगलेइन, फाबियन एलेन र हेमन्त धामीले एक–एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२५ रन बनाएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० रन बनाए । जारी एनपिएलमा ऐरीको यो पहिलो अर्धशतक हो ।
त्यस्तै थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन बनाए । काठमान्डुका लागि जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।









