काठमाण्डाै । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराएको छ । मलेशियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो । बहराइनले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर भेटाएको थियो । नेपालका अर्जुन कुमालले नटआउट ३६, रोहित पौडेलले नटआउट १९ रन बनाएका थिए । बहराइनका इमरान जावेद अनवरले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले ३६ ओभर २ बलमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो । बहराइनका फियाज अहमदले सबैभन्दा धेरै १५ रन बनाएका थिए । नेपालका कप्तान सन्दीप लामिछानेले ५, ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिएका थिए ।
एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । २ वटै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ ।








