धादिङ । धादिङको चर्चित स्थान कृष्णभिरनजिकै पृथ्वी राजमार्ग भासिएको छ । धादिङको बेनीघाट रोराङ गाउँपलिका–७ मा रहेको यो क्षेत्रमा करिब सय मिटर लम्बाइ र नौ मिटर चौडाइ राजमार्ग भासिएको पृथ्वी राजमार्ग मुग्लिङ–मलेखु खण्ड निर्माण योजनाका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो ।
“त्रिशूली नदीको लगातारको कटानले कृष्णभिरनजिकै राजमार्गभन्दा तल ‘फ्लो कटिङ’ का कारण राजमार्ग भासिएको हो,” उहाँले भन्नुभयो, “अहिले करिब सय मिटर लम्बाइ र नौ मिटर चौडाइ क्षेत्रसम्म भासिएको छ । कतिपय स्थानमा सडक थप चिरिएकाले भासिने सम्भावना बढ्दो छ ।” सडक र सडकछेउको नालीसमेत भासिएको पनि उहाँले जनाउनुभयो । “तल त्रिशूली नदीमा झन्डै सय मिटर पर्खाल दिएर राजमार्गलाई संरक्षण गरिएको थियो । अहिले त्यो पर्खाल नै त्रिशूलीले बगाएछ,” उहाँले भन्नुभयो । यो क्षेत्रमा २०५७ सालमा ठुलो पहिरो गएपछि सो पर्खाल दिएर राजमार्ग संरक्षण गरिएको थियो ।
सडक अवरुद्ध भएपछि अत्यावश्यक सवारी तत्कालका लागि वैकल्पिक सडक प्रयोग गरी सञ्चालन गरिएको छ । काठमाडौँबाट बाहिरिने ठुला सवारीलाई काठमाडौँ–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जाने व्यवस्था गरिएको छ भने साना सवारी र माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गराइएको कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अत्यावश्यक मालवाहक र यात्रुवाहक सवारीको अवस्था हेरेर पठाएका छौँ । सबै सवारी पठाउन सक्ने अवस्था रहँदैन, किन कि सडकको अवस्था, बर्सात र साँघुरो सडक भएकाले अत्यावश्यक सवारी मात्र सञ्चालनमा ल्याइएको हो ।” कान्ति लोकपथबाट पनि सवारी सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सार्वजनिक सवारी नचलाउन सूचना जारी गरेको छ ।








