गैँडाकोट। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित जनक नमुना माध्यमिक विद्यालय देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण गर्ने सरकारी योजनामा छनोट भएको छ। विद्यालय छनोट भएपछि आधुनिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर अभिवृद्धिको अपेक्षा गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक संरचना सुदृढीकरण गर्ने महत्वाकांक्षी योजना अघि बढाएको हो। यस कार्यक्रमका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। त्यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको बताइएको छ।
योजनाअन्तर्गत प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीनतले भवन, अत्याधुनिक प्रयोगशाला तथा व्यवस्थित पुस्तकालय निर्माण गरिनेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार विद्यालयहरूको भौतिक पूर्वाधार विकासलाई तीव्रता दिँदै गुणस्तरीय शिक्षाका लागि आवश्यक वातावरण तयार गर्ने लक्ष्य राखिएको छ।
गण्डकी प्रदेशका ६ वटा विद्यालय यस योजनामा छनोट भएका छन्। तीमध्ये कास्कीका तीन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई र तनहुँको एउटा विद्यालय रहेका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट छनोट भएका दुई विद्यालयमध्ये गैँडाकोटको जनक नमुना माध्यमिक विद्यालय पनि परेको हो।
विद्यालयलाई यस महत्वपूर्ण योजनामा समावेश गरी बजेट विनियोजन गरिएकोमा विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले नेपाल सरकार तथा सम्बन्धित मन्त्रालयप्रति आभार व्यक्त गर्नुभएको छ । उहाका अनुसार विद्यालयसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका सबै सरोकारवालाको निरन्तर सहयोग, लगनशीलता र एकताले यो उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
विद्यालयका सहायक प्रधानाध्यापक हिमालदेव पङ्गेनीले यो उपलब्धि कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समिति, गैँडाकोट नगरपालिकाका नगर प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई, नगरपालिकाको शिक्षा शाखा, शिक्षक तथा कर्मचारी, अभिभावक, वर्तमान तथा पूर्वविद्यार्थी, शुभचिन्तक र स्थानीय समुदायको योगदानको प्रशंसा गरेका छन्।
आधुनिक भवन, प्रयोगशाला र पुस्तकालय निर्माण भएपछि विद्यार्थीले थप सहज, व्यवस्थित र प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ। विद्यालयले निर्माण हुने भौतिक संरचनाको प्रभावकारी उपयोग गर्दै शैक्षिक गुणस्तरलाई अझ उकास्ने लक्ष्य राखेको छ। विद्यालयको यो उपलब्धिले गैँडाकोटको शैक्षिक विकासमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।









