गैंडाकोट । गैंडाकोटमा जारी तेस्रो वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा गैंडाकोट नगरपालिका वडा नम्बर ४ र वडा नम्बर १४ प्रवेश गरेका छन्। प्रतियोगिताको उपाधिका लागि दुवै टोलीबीच यही कार्तिक ३० गते सोमबार प्रतिस्पर्धा हुने भएको छ।
गैंडाकोट नगरपालिका–९ स्थित नवजागरण खेलकुद मैदानमा बिहान ११ बजे फाइनल खेल सञ्चालन हुने आयोजकले जानकारी दिनुभयो ।
प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १४ ले वडा नम्बर १० लाई ६८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर १२ लाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ। अब उपाधिका लागि सोमबार वडा नम्बर ४ र वडा नम्बर १४ बीच रोमाञ्चक प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो।
वडास्तरीय क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान र विकास गर्नुका साथै नयाँ खेलाडी उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याउने गैडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले बताउनुभयो। उहाँले खेलकुदको विकास र खेलाडीको मनोबल बढाउन यस्ता प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अध्यक्ष सापकोटाले फाइनल खेलमा सहभागी हुने खेलाडीलाई हौसला प्रदान गर्न सम्पूर्ण गैंडाकोटवासी, खेलप्रेमी तथा खेलकुदप्रेमी महानुभावलाई नवजागरण खेलकुद मैदानमा उपस्थित भई खेलको अवलोकन गर्न आग्रह गर्नुभएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी प्लेयर अफ द सिरिजलाई नगद ८ हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही ५/५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी खेलाडीलाई आयोजकले क्रिकेट प्याड, हेलमेट तथा ब्याटिङका लागि आवश्यक खेल सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ। खेलका क्रममा खेलाडी घाइते भएमा आयोजकले एक लाख बराबरको बिमाको व्यवस्था गरेको सहआयोजक गैँडाकोट क्रिकेट क्लबका अध्यक्ष दीपक रिमालले बताउनु भयो।
प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान र खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने विश्वास लिईएको छ।









