आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट मस्यौदा लेखनको काम अर्थ मन्त्रालयद्वारा सुरु

taja samachar side 1

चैत २०, काठमाडौँ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनीराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नुभएको थियो । सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहनुभएको समितिले मस्यौदा लेखन सुरु गरेको हो ।

बजेट लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन अर्थ मन्त्रालयले आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।

Article Inline 2

मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्नुभयो । “बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ,” उहाँले भन्नुभयो, “तर, सबै भेटघाट बन्द गरिएको होइन । भेट्नैपर्ने सरोकारवालालाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।” उहाँले सम्बद्ध मन्त्रालय तथा महत्वपूर्ण सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधि संस्थाका व्यक्तिहरू, दातृ निकायका प्रतिनिधिलाई समय लिएर मात्र भेट्न आइदिन आग्रह गर्नुभयो ।

विगतमा पनि बजेट निर्माणमा यस्तो अभ्यास हुने भएकाले कामको चाप र संवेदनशीलताका कारण बजेट निर्माण अवधिभर भेटघाटको स्वरूपमा परिवर्तन गरिएको प्रस्ट पार्नुभयो । समयमा यस्तो अभ्यास हुने गरेको स्पष्ट गरे । विसं २०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले सङ्घीय संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ ।

सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै यो वर्ष बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरिसकेको छ । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले  गत १४ फागुनमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरेको आव ०८१/८२ को  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । वर्तमान अर्थमन्त्री पुनले सोही प्रस्तावमा सांसदले उठाएका प्रश्नको जवाफ दिएसँगै दुवै सदनले बजेटका सिद्धान्त र प्राथमिकता पारित गरिसकेका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :