बैशाख २६,काठमाडौं । राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै राजावादीहरूले जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजसंस्था पुनःस्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका हुन् । संयोजक सुवेदीले आन्दोलन शान्तिपूर्ण हुने बताए । ’हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ, भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ,’ उनले भने ।
घोषणासभामा समितिका संयोजक सुवेदीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थित रहेको थियो । यो आन्दोलनमा बाह्य शक्तिहरुको संलग्नता नरहने सुबेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरु गर्न उनले अपिल गरेका छन् । आन्दोलनलाई सफल तुल्याउन प्रत्येक जिल्ला, पालिका तथा वडाहरुमा संयुक्त जनआन्दोलन समिति गठन गर्न उनको प्रस्ताव छ ।
‘यो आन्दोलन नेपाली जनताका लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुने छ,’ विज्ञप्तिमा भनिएको छ । राजावादीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना र संघीयता खारेजीका तीन प्रतिवद्धता व्यक्त गरेका छन् ।