spot_img

Thursday, July 23, 2026

सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिने निर्णय/ वायुसेवा कम्पनी आकर्षित हुने विश्वास

पोखरा। सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा–दुबईलगायत अन्य अन्तरराष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायुसेवा कम्पनीलाई भित्र्याउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।“पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिका लागि यसबाट महत्वपूर्ण टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सीधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई–पोखरा–दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताउनुभयो । यो उडानले पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्राअवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाइ छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :