गैँडाकोट । नवलपुरको गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिर परिसरमा श्रावण महिनाभरि हरेक सोमबार साँझ महाआरती हुने भएको छ । सोमबारबाट महाआरतीको शुभारम्भ भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष खगराज कंडेलले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको मौलाकाली मन्दिरमा अघिल्लो वर्षदेखि हुँदै आएको महाआरती यस वर्षपनि हरेक सोमबार साँझ आयोजना गर्ने निर्णय अनुरुप आजबाट शुभारम्भ भएको जानकारी दिनुभयो ।
महाआरती पूर्व मौलाकालिका मन्दिरमा गैँडाकोट युवा भजन समूहद्वारा भजनकिर्तन समेत गरिएको छ । मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा मौलाकाली केबलकारको सहयोगमा साँझ साढे ६ वजेदेखि सवा ७ वजेसम्म हुने महाआरतीमा भक्तजन तथा दर्शनार्थीहरुको विशेष उपस्थिति रहेको थियो । सोमबार भएको महाआरतीमा नवलपुका सांसद राजन गौतमले दीप प्रज्ज्वलन गरि महाआरतीको शुभारम्भ गर्नुभएको थियो ।
मौलाकालिका मन्दिरमा सुरु भएको महाआरतीलाई ध्यान दिदै मौलाकाली केबलकारले आफ्नो टिकटमा सहजता बनाउँदै रु २५० रुपैँयामा जान र आउन मिल्ने व्यवस्था मिलाएको मन्दिरका अध्यक्ष खगराज कंडेलले जानकारी दिनुभएको छ । साँझपख मन्दिर जान र मन्दिरको महाआरतीमा सहभागि हुन चाहने यात्रु तथा भक्तजनहरुले केवलकारको टिकट काउन्टरबाट छुट सुविधा लिनसक्ने मौलाकाली केवलकारले जनाएको छ ।









