चितवन। आदर्श गृह नेपालले साङ्गश्रीमद्भागवत सप्ताह–विराट् ज्ञानमहायज्ञ गर्ने भएको छ । आदर्श गृहको भवन निर्माणार्थ महायज्ञ गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । गृहकी संस्थापक एवम् सामाजिक अभियन्ता मीनाकुमारी खरेलका अनुसार संस्थाले जमिन प्राप्त गरिसकेको हुँदा सोही जमिनमा भवन निर्माण गर्ने तयारी गरेको हो ।
यही कात्तिक २८ देखि मङ्सिर ८ गतेसम्म हुने महायज्ञबाट करिब ९ करोड रूपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको गृहले जनाएको छ । महायज्ञको तयारी र व्यवस्थापन खर्च सबै गर्दा भवन निर्माणका लागि आवश्यक पर्ने रकम जुट्ने अपेक्षा गरिएको उनको भनाइ छ । ‘भवन निर्माणका लागि करिब सात करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान छ’, उनले भनिन्, ‘९ करोड रूपैयाँजतिको कारोबार हुँदा भवन निर्माणका लागि आवश्यक पर्ने रकम जोगाउन सकिन्छ कि भन्ने लागेको छ ।’
२०४९ सालमा स्थापना भएको संस्थाबाट हालसम्म एक हजार २६० जना महिला, किशोरी तथा बालबालिकाको उद्धार, संरक्षण र अधिकार सुनिश्चित गर्ने काम सफल भएको केन्द्रकी संस्थापक खरेलको दाबी छ । हालसम्म उक्त कार्यले निरन्तरता पाइरहेको बताउँदै उनले थपिन्, ‘कहिलेसम्म भाडा तिरेर बस्ने ? त्यही भएर अब आफ्नै जमिन र आफ्नै भवनमा बसेर यो सुविधा दिने योजना बनाएका हौँ ।’
खरेल आफैँले आफ्नो अंशबापत पाएको एक कठ्ठा जमिन दान गरेर जग्गा खरिद तथा भवन निर्माणको अभियान थालेकी हुन् । सोही अभियानअन्तर्गत भरतपुर–१५, मङ्गलपुरस्थित विश्वप्रकाश टोल विकास संस्थाभित्र ६ कठ्ठा १२ धुर जमिन खरिद गरेर सोही स्थानमा महायज्ञ लगाएर भवन निर्माण गर्ने योजना बनाएको उनको भनाइ छ । चार तलाको भवन निर्माण गरेपछि करिब ७० जना महिला, किशोरी तथा बालबालिकालाई संरक्षण दिन सकिने उनले बताइन् ।
भवन निर्माण भइसकेपछि संरक्षणमा रहेका महिला, किशोरी तथा बालबालिकाहरुलाई सुरक्षित आवासका साथै अध्ययन, परामर्श, सीप विकास, स्वास्थ्य तथा पुनस्र्थापनासम्बन्धी सेवा सञ्चालनमा सहज हुने अपेक्षा गरेको उनले बताइन् । उक्त कार्यका लागि एक्लैको प्रयासबाट सम्भव नहुने हुँदा सामुदायिक तहबाटै अभियान सफल पार्ने योजनासहित महायज्ञ आयोजना गर्न लागेको उनले बताइन् ।
संस्थाले महायज्ञबाट सङ्कलित रकमबाटै अक्षयकोष स्थापना गर्ने लक्ष्यसमेत लिएको छ । संस्थाको सेवाका लागि कुनै व्यक्तिकेन्द्रित हुन नदिनका लागि र यसलाई कालान्तरसम्म लैजानका लागि पनि अक्षयकोष आवश्यक परेको आदर्श गृहले जनाएको छ ।
प्रमुख वाचक नारायण न्यौपानेको उपस्थिति रहने महायज्ञ अवधिभर सन्त समाज नेपालका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, यज्ञाचार्य नारायणप्रसाद पोखरेललगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।









