गैडाकोट । नेवाः देय दबू गैँडाकोट नगर समितिको आयोजनामा एस.ई.ई. परीक्षा २०८२ मा उत्तीर्ण विद्यार्थीहरू तथा नेवाः मिसा दबूका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरिएको छ ।
गैँडाकोटस्थित होटल द नारायणीमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको मेहनत, लगनशीलता र सफलताको कदर गर्दै उनीहरूलाई हार्दिक बधाई तथा सम्मान गरिएको हो । कार्यक्रममा एसईई परीक्षा २०८२ मा उत्तीर्ण २४ जना छात्रछात्रालाई सम्मान गरिएको हो । कार्यक्रममा नेवाः मिसा दबूका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नेवा देय दबु जिल्ला समिति नवलपुरका अध्यक्ष मित्रलाल श्रेष्ठले नेवाः देय दबू गैँडाकोट नगर समितिकोे यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप आत्मविश्वास बढाउने र समुदायप्रति जिम्मेवार बन्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । नेवार समुदायको धर्म, संस्कृति, कला भेषभूषा आदिको संरक्षणका लागि आफुले जे सुकै त्याग गर्न पनि पछि नपर्ने बताउनुभयो ।
कार्यक्रममा नेवा देय दबु गैंडाकोट नगर समितिका अध्यक्ष शिवजंग श्रेष्ठले एसईई उत्तीर्ण सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफलतामा मात्र सीमित नभई आगामी शैक्षिक यात्रामा अझ बढी मेहनत र लगनशीलताका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई समेत सम्मान गरिने जानकारी दिनुभयो।
कार्यक्रमका वक्ताहरूले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ मेहनती र अनुशासित भएर अघि बढ्न आग्रह गरे । उनीहरूले शिक्षा समाज विकासको मुख्य आधार भएको भन्दै विद्यार्थीहरूको सफलताले परिवार, समुदाय र राष्ट्रलाई नै गौरवान्वित बनाउने बताए ।

नेवा देय दबु गैंडाकोट नगर समिति अध्यक्ष शिवजंग श्रेष्ठको अध्यक्षतामा कार्यक्रम गरिएको हो । नेवा देय दबु गैडाकोट नगर समिति उपाध्यक्ष रोशनी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण नेवा देय दबु गैंडाकोट नगर समितिका महिला सचिव सविता श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा नारायणी नवदुर्गा मन्दिर समिति अध्यक्ष राजकुमार श्रेष्ठ, नेवा मिसा दबु केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज शर्मिला श्रेष्ठ, नेवा मिसा दबु गैडाकोट नगर समिति अध्यक्ष बिमला श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासङ्घ गैडाकोट नगर समन्वय परिषद् अध्यक्ष नरेश थापा मगर, नेपाल आदिवासी जनजाति महिला महासंघ गैडाकोट अध्यक्ष सीता श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा मौलाकालिका केबलकार गैँडाकोट–१ र गैँडाकोट नगरपालिका वडा नं. २ को कार्यालयले सहयोगी संस्थाको रूपमा साथ दिएको थियो । सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई थप उत्साहित बनाउनुका साथै शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।






