गैंडाकोट । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको युवा समूहबाट महाधिवेशन प्रतिनिधिका लागि गैंडाकोटका युवा नेता श्याम बनले उम्मेदवारी दिने तयारी गरेका छन्। असोज १२ गते हुने क्षेत्रीय अधिवेशनमा बनले उम्मेदवारी दिन लागेको फास्ट खबर अनलाइनलाई जानकारी दिए ।
नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बनले गैंडाकोटसँगै समग्र नवलपुरमा नेपाल विद्यार्थी संघको संगठन विस्तार र सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई पार्टी संगठनमा समेत निरन्तरता दिँदै आएका उनी युवाहरूलाई संगठित गर्दै सकारात्मक र रचनात्मक भूमिकामा अघि बढाउन सक्ने युवाका रूपमा परिचित छन्।
पेसाले स्वास्थ्यकर्मी रहेका बन सामाजिक सेवासँगै राजनीतिक तथा संगठनात्मक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। युवाहरूलाई एकीकृत गरी साझा उद्देश्यका साथ अघि बढाउन सक्ने क्षमता, संगठनप्रतिको निरन्तर सक्रियता र जिम्मेवारीप्रतिको प्रतिबद्धता उनका प्रमुख विशेषता मानिन्छन्।
बन धैर्यशील तथा स्पष्ट वक्ताका रूपमा समेत परिचित छन्। पार्टीका विभिन्न कार्यक्रम, अभियान तथा निर्वाचनमा जिम्मेवारी प्राप्त गर्दै त्यसलाई कुशलतापूर्वक निर्वाह गर्दै आएका उनले आम निर्वाचनदेखि पार्टीका विभिन्न तहका निर्वाचनसम्म आफ्नो जिम्मेवारी सक्रियताका साथ पूरा गरेका छन्।
युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै आएका बनले पार्टीमा युवाको अर्थपूर्ण प्रतिनिधित्व, संगठन सुदृढीकरण र पुस्तान्तरणको विषयलाई महत्त्व दिँदै ३५ वर्षमुनिको समूहबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
उनको उम्मेदवारीसँगै नवलपुरमा युवा नेतृत्व, संगठनमा नयाँ पुस्ताको सहभागिता र युवाको आवाजलाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा थप प्रभावकारी रूपमा स्थापित गर्ने विषयले समेत चर्चा पाएको छ।









