गैँडाकोट। गैँडाकोटमा जारी तेस्रो गैंडाकोट वडास्तरीय क्रिकेट प्रतियोगिताको आजको खेलमा गैडाकोट वडा नम्बर ४ र वडा नम्बर १ विजयी भएका छन्।
गैंडाकोट ९ मा रहेको नवजागरण क्रिकेट रङ्गशालामा पहिलो खेलमा वाकओभर पाउँदै गैंडाकोट ४ विजयी भएको छ। गैंडाकोट वडा नम्बर ४ र गैंडाकोट वार्ड नम्बर १८ बीच खेल हुने तालिका रहेको थियो जसअनुसार निर्धारित समयसम्म गैडाकोट वडा नम्बर १८ को टिम उपस्थित नभएपछि गैंडाकोट वडा नम्बर ४ ले वाक ओभर पाउँदै विजयी भएको छ।
त्यस्तै आज नै भएको अर्को खेलमा गैडाकोट वडा नं १ विजयी भएको छ। गैंडाकोट वडा नं १ ले टस जितेर फिल्डिङ रोजेपछि गैंडाकोट वडा नम्बर ९ ले ब्याटिङ गर्न मैदानमा उत्रिएको थियो। गैंडाकोट वडा नम्बर ९ ले १३ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ४७ रन बनाएको थियो। गैडाकोट वडा नम्बर ९ का कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। सस्तैमा समेट्न गैडाकोट १ का सिवाङ गुरुङले चार विकेट र भोजेन्द्र सापकोटाले दुई विकेट लिएका थिए।
त्यस्तै ४८ रनको लक्ष्य पछाएको गैंडाकोट वडा नम्बर १ ले दुई विकेटको क्षतिमा ६. २ ओभर खेल्दै निर्धारित लक्ष्य पूरा गरेको छ। गैंडाकोट वडा नम्बर १ ले गैडाकोट वडा नम्बर ९ लाई ८ विकेटले हराएको छ।
गैडाकोट वडा नम्बर १ को तर्फबाट भास्कर आचार्यले १६ र सुमित पाण्डेले ११ रन बनाएका थिए। बलिङतर्फ गैंडाकोट वडा नम्बर ९ का धामनाथ सापकोटा र सागर रिजालले एकएक विकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच गैंडाकोट वडा नं १ का शिवाङ गुरुङ बनेको गैंडाकोट क्रिकेट क्लबका अध्यक्ष दीपक रिमालले जानकारी दिनुभयो । गैंडाकोट नगरपालिकाभित्रका १६ वटा टिमले सहभागिता जनाएको प्रतियोगिता यही कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।









