गैंडाकोट । स्थानीय सरकार र समुदायबीच संवाद, समन्वय तथा सहकार्य अभिवृद्धि गर्दै समावेशी नेतृत्व र उत्तरदायी स्थानीय शासन प्रवर्द्धन गर्ने उद्देश्यले गैंडाकोट नगरपालिका वडा नं १६ मा ‘समान आवाज’ कार्यक्रमअन्तर्गत स्थानीय सरकार र समुदायबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
द स्टोरी किचनको आयोजना, गैंडाकोट नगरपालिकाको नेतृत्व, कोडी इन्स्टिच्युट, क्यानडाको सहयोग तथा वडा नं। १६ को समन्वयमा आयोजित कार्यक्रममा महिला, दलित तथा आदिवासी जनजाति समुदाय, किशोरी, युवा, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न सामाजिक समूहका प्रतिनिधिसहित ४० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका योजना विकास शाखा प्रमुख लिलाधर शर्माले नगरपालिकाका अद्यावधिक नीति, योजना तथा कार्यक्रम, प्राथमिकता र उपलब्ध सेवा–सुविधाबारे प्रस्तुति दिनुभएको थियो। प्रस्तुतिपछि सहभागीहरूले स्थानीय सरकारका नीति तथा कार्यक्रम, समुदायका आवश्यकता, महिला तथा सीमान्तकृत समुदायको समावेशिता र स्थानीय सेवामा पहुँचका विषयमा प्रश्न, सुझाव तथा धारणा राखेका थिए।
कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष विनोदकुमार मल्लले वडा तथा नगरपालिकाबाट सञ्चालन भइरहेका विभिन्न सेवा तथा कार्यक्रमबारे जानकारी गराउनुभयो। उहाँले खानेपानी तथा स्वास्थ्य सेवामा निःशुल्क पहुँच, स्नातक तहसम्म निःशुल्क शिक्षाका लागि सहजीकरण तथा विपन्न समुदायलाई कपडा वितरणलगायतका कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँले महिलाहरूलाई आफ्ना अधिकारप्रति सचेत हुँदै उपलब्ध सेवा–सुविधाको उपयोग गर्न र अधिकारका लागि सक्रिय रूपमा आवाज उठाउन आग्रह गर्नुभयो।
कार्यक्रमको समन्वय तथा सहजीकरण द स्टोरी किचनका नवलपुर जिल्ला संयोजक नर्मदा पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा समुदायका सवाललाई स्थानीय शासन प्रक्रियासँग जोड्न नियमित संवाद, सहकार्य र अर्थपूर्ण सहभागितामा जोड दिइएको थियो।









