नवलपरासी पूर्व । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा नियमित खोप ढुवानीकर्ताका लागि एकदिने तालिम सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का कार्यालय प्रमुख तथा जनस्वास्थ्य प्रशासक केशव प्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न तालिममा नियमित खोपको सुरक्षित ढुवानी, कोल्ड चेन व्यवस्थापन, खोपको गुणस्तर कायम राख्ने उपाय, ढुवानीका क्रममा अपनाउनुपर्ने सावधानी तथा आवश्यक अभिलेख व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिइएको थियो।
तालिममा खोप कार्यक्रम फोकल पर्सन खरेल प्रसाद चौधरी, जनस्वास्थ्य अधिकृत पारसमणि पंगेनी तथा कोल्ड चेन सहायक प्रकाश यादवले प्राविधिक सहजीकरण गर्नुभएको थियो।
खोपको प्रभावकारिता र गुणस्तर कायम राख्न सुरक्षित ढुवानी तथा उचित कोल्ड चेन व्यवस्थापन महत्वपूर्ण हुने भएकाले नियमित खोप सेवा प्रवाहमा संलग्न ढुवानीकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
तालिममार्फत खोप ढुवानीका क्रममा आवश्यक सावधानी अपनाउने, कोल्ड चेनको उचित व्यवस्थापन गर्ने तथा सम्बन्धित अभिलेख व्यवस्थित राख्ने विषयमा सहभागीहरूलाई व्यवहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिएको थियो।









