गैँडाकोट । नवलपरासी पूर्व गैंडाकोटमा मौलिक संस्कृतिको संरक्षण पञ्चै तथा नौमति बाजा प्रबर्द्धन एव श्रष्ठा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कालिका फेदी नौमती बाजा समूहको आयोजनामा शनिबार नारायणी पार्टी प्यालेस, कालीगण्डकी चोकमा सो कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय गायक, गायिका र कलाकारहरूको विशेष प्रस्तुति सहित सांगेतिक माहोल रहेको थियो । मौलिक संस्कृति संरक्षण र पञ्चेबाजा तथा नौमती बाजाको प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रम संयोजक चन्द्रबहादुर परियारले जानकारी दिनुभएको छ।
वरिष्ठ लोकदोहोरी कलाकार बिनखाती, सरिता गुरुङ श्रेष्ठ, दिपेन्द्र ठकुरी, जुना डल्लाकोटी, देवी गुरुङ, एलिना परियार, जीवन परियार, चन्द्र परियार र खेम थापाले सांगीतिक प्रस्तुति दिनुभएको थियो भने सांगेतिक र रमाइलो वातावरणको सिर्जना भएको थियो ।
संयोजक परियारका अनुसार, पञ्चेबाजा–नौमती बाजाका परम्परागत बादकहरूलाई आधुनिक संगीत तालिमद्वारा सीप अभिवृद्धि गरिने, तिनको धुन रेकर्ड गरी संरक्षण गरिने तथा औपचारिक संगीत प्रशिक्षण केन्द्रको स्थापना जस्ता दीर्घकालीन लक्ष्य राखिएको छ। यसबाट संगीतकर्मीहरूलाई रोजगारीको अवसर पनि सिर्जना गर्न सरोकारवालाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कला संस्कृति धरोहर भएकाले यसको संरक्षणमा सबै एकजुट हुनपर्ने बताउनुभयो । साथै उहाँले पञ्चेबाजा तथा नौमती बाजाको प्रवर्धनमा सबै समुदायका व्यक्ति पनि सहभागि भएको देख्दा राम्रो लागेको बताउनुभयो । कालिका फेदी नौमती बाजा समूहले सराहनिय कार्यक्रम गरेको भन्दै नगर प्रमुख अधिकारीले प्रंशसा गर्नुभयो ।
उपप्रमुख शान्ति कोइरालाले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने र तालिम सिप परिक्षणको व्यवस्था गर्ने बताउनुभयो ।
प्रवेश शुल्क निःशुल्क रहेको सो कार्यक्रममा सांस्कृतिक धरोहर जगेर्ना र स्थानीय समुदायमा चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ। कार्यक्रममा परम्परागत रुपमा बाजा बजाउने अग्रज व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।









