फागुन १५ काठमाडौँ। देशैभरका मगर समुदायले बिहीबार ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदैछन्। यो दिनलाई मगर दिवस पनि भनिन्छ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ। पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो। यही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाइन्छ।
२०४८ सालको चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ छ। यो कुल जनसङ्ख्याको ६.९ प्रतिशत हो ।
नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिका स्तरीय कार्यक्रमको आयोजना गर्ने गर्दछन । ‘मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाका जिल्ला मगर संघ नगर र गाउँपालिका स्तरीय मगर संघसँगै विदेशमा रहेका संघसंस्थाहरूले समेत दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन ।
विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको पाहिन्छ ।
यस अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । पालिकाले छुट्टाछुट्टै सूचना जारी गरी संघको स्थापना दिवसका अवसरमा आज मातहतका सबै कार्यालय बन्द हुने जनाएका हुन्।
यहाँका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा मगर समुदायको जनसङ्ख्या एक लाख तीन हजार ९४९ रहेको छ । यो जिल्लाको कुल जनसङ्ख्याको २७ दशमलव ४९ प्रतिशत हो ।