spot_img

Sunday, July 26, 2026

सरकार द्वारा महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार प्रदान

 भदौ १३, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही रु. तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु. दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु. एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो ।

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कुल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो ।

“हाम्रा खेलाडी छोरीहरुलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ । खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ । तपाईँहरु जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस् ।”

उहाँले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । उहाँले दशरथ रंगशालाको खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद भएको र उक्त रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन ध्यानाकर्षण गराउनुभयो ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :