भदौ २ भरतपुर । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले राष्ट्रिय भलिबल खेलाडीद्धय आरती सुवेदी र संगम महतोलाई सम्मान गरेको छ ।
सेन्ट्रल टावरमा आइतबार आयोजित एक कार्यक्रमबीच कलेजले चितवनका दुई राष्ट्रिय खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । हालै काभा भलिबलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीकी सदस्य आरती र संगमलाई हौसला प्रदानका लागि कलेजले सम्मान गरेको हो ।
कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी) दुवै खेलाडीलाई खादा र नगदले सम्मान गरे । सो अवसरमा उनले देशको शिर उच्च बनाउने खेलाडीहरुलाई थप हौसला प्रदान गर्नका लागि सम्मान गरेको बताए । खेल र खेलाडीको बिकास तथा प्रवद्र्धनका लागि सेन्ट्रल कलेजले सधैँ सहयोग र सहकार्य गर्दै आएको उनको भनाइ थियो ।
उनले आगामी दिनमा पनि यस्ता सहयोग र सहकार्यलाई निरन्तरता दिने बताए । उनले चितवनको भलिबल विकासका लागि पनि कलेजले लगानी गर्दै आएको बताए । राष्ट्रिय भविबल खेलाडी आरती सुवेदीले यस्ता सहयोगले खेलाडीलाई हौसला मिल्ने बताइन् । आगामी दिनमा देशका लागि थप मेहेनत गरेर खेल्ने उनको भनाइ थियो ।
भरतपुर–२५ की आरती र २७ की संगम नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य हुन् । हालै काठमाडौँमा सम्पन्न काभा महिला भलिबलमा नेपाल उपविजेता भएको थियो । नेपाल प्रतिस्पर्धात्मक खेलमा फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।
त्यसअघि नेपालले समूह चरणमा भारतलाई पराजित गरेर इतिहास रचेको थियो । नेपालको उक्त सफलतामा आरती र संगम नेपाली टोलीको मह¤वपूर्ण सदस्य थिए ।





