पुस १ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन हुन सक्ने तर तत्काल सम्भावना नरहेको बताउनुभएको छ । आइतबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको पनि स्पष्ट पार्नुभयो । सरकार आफ्नो उद्देश्यमा अविचलित काम गरिरहेको उहाँको भनाइ छ । सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने रहेको उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले लय गुमायोकी भन्ने चिन्ता छ, हामीले लय गुमाएका छैनौँ । सरकारको प्राथमिकता भनेको समृद्धिमा पुग्ने, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त बनाउने हो । सरकार आफ्नो नीति र उद्देश्यमा विचलित छैन ।’
आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन गर्न सकिने भए पनि अहिलेको सन्दर्भमा त्यस्तो छलफल नभएको उहाँको भनाइ छ । अहिले मन्त्रीहरू केही परिवर्तन हुन्छ कि भन्नेकुरा छैन । यो हाम्रो गठबन्धन र राजनीतिक दलभित्र छलफल भएको छैन, उहाँले भन्नुभयो । प्रवक्ता शर्माले सरकार आफ्नो नीति र उद्देश्यमा विचलित नरहेको स्पष्ट पार्नुभयो ।