नेपाली सेनाको भरतपुरस्थित नयाँ सबुज गणसँगको समन्वयमा सुरु भएको तालिमको गुल्मपति प्रमुख सेनानी सुदीप तामाङ, स्कुलकी प्राचार्य ईन्दिरा कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीले संयुक्त रुपमा उद्घाटन गरे । तालिममा स्कुलबाट छनौट भएका ३० जना विद्यार्थी सहभागी छन् । जसमा छात्र र छात्रा समान १५-१५ जना रहेका छन् ।
एक सय दिनको तालिम अवधीमा विद्यार्थीहरुलाई सैनिक कला, विपद व्यवस्थापन, नेतृत्व बिकासलगायतका बिषय सिकाईनेछ । एक सय दिनको अवधी मध्य ७९ दिन स्कुलमा नै तालिम दिईनेछ । बाँकी २१ दिन भने राष्ट्रिय सेवा दलको तालिम शिक्षालयमा सामूहिक बन्द प्रशिक्षण हुनेछ ।
तालिम उद्घाटनको क्रममा गुल्मपती तामाङले सहभागी विद्यार्थीलाई प्रथम प्रवचन दिएका थिए । उनले तालिमको उद्देश्य र प्रकृतिको बिषयमा पनि सहभागी विद्यार्थीहरुलाई जानकारी गराएका थिए । तालिमले विद्यार्थीको आत्मविश्वास बढाउने, राष्ट्रप्रेम जागृत गर्ने र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
नेपालमा बिस २०२२ साल देखि सुरु भएको राष्ट्रिय सेवा दल तालिममा हालसम्म सिनियर डिभिजनतर्फ १५ हजार २१५ र जुनियर डिभिजनमा ७४ हजार ६७९ जना गरी ८९ हजार ८९४ जना विद्यार्थी सहभागी भएका छन् ।
तालिमले विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्कुलकी प्राचार्य कार्कीले बताईन् । उद्घाटनमा तालिममा सहभागी ३० जना विद्यार्थीका अभिभावकहरु पनि सहभागी थिए । देशका ७७ वटै जिल्लामा नेपाली सेनाको व्यवस्थापनमा प्रत्येक वर्ष एनसीसी तालिम सञ्चालन भइरहेको छ।








