single head

नन्दन सामुदायिक वन उपभोक्ता समूहको ४५ दिने कपाल काट्ने तालिम सुरु

single post top 1

गैँडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट–६, ८ र ९ को आयोजनामा गरिबी न्यूनीकरण, महिला सशक्तीकरण तथा उद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने कपाल काट्ने तालिम सुरु भएको छ।
बिहीबार नेपाल स्वावलम्बन विकास संघ, गैँडाकोट–६ को सभाहलमा आयोजित कार्यक्रमबीच तालिमको उद्घाटन गरिएको हो। समूहको कार्यक्षेत्रमा पर्ने तीनवटा वडाबाट छनोट भएका २० जना प्रशिक्षार्थी तालिममा सहभागी भएका छन्।
तालिमका लागि प्राविधिक सहयोग पब्लिक शाइनिङ टेक्निकल इन्स्टिच्युट प्रालि, गैँडाकोट ६ ले गरेको छ भने प्रशिक्षण बाबु साहेब शैलुनका सञ्चालक खिम मल्लले दिनेछन्।

single p1

कार्यक्रममा नन्दन सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष हरिमाया अधिकारीले सामुदायिक वनको भूमिका वन संरक्षणमा मात्रै सीमित नराखी उपभोक्ताको आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने बताउनुभयो। उहाँले आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उल्लेख गर्दै तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनको माध्यम बनाउन सहभागीलाई आग्रह गर्नुभयो।
पब्लिक शाइनिङ टेक्निकल इन्स्टिच्युटका सञ्चालक दीपक दराईले छोटो अवधिमा सीप सिकेर स्वरोजगार बन्न सकिने भएकाले प्रशिक्षार्थीले तालिम अवधिभर नियमित र अनुशासित भएर सिक्नुपर्नेमा जोड दिनुभयो।
तालिमका प्रशिक्षक तथा बाबु साहेब शैलुनका सञ्चालक खिम मल्लले कपाल काट्ने तालिममा सिकाइसँगै निरन्तर अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउँदै मेहनत गरे यसै सीपबाट राम्रो आम्दानी गर्न सकिने धारणा राख्नुभयो।

single p2

समूहका उपाध्यक्ष नरजंग रानाले सहभागीलाई स्वागत गर्दै सामुदायिक वनले उपभोक्ताको जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
कार्यक्रमको सहजीकरण समूहका सचिव तथा महिला सशक्तीकरण कार्यक्रमकी संयोजक कमला शर्माले गर्नुभएको थियो। उहाँले महिला सशक्तीकरणलाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले सीपमूलक तालिमलाई प्राथमिकता दिइएको बताउनुभयो।

समूहका कोषाध्यक्ष डिला शर्मा सुवेदीले तालिमबाट सहभागीको आत्मविश्वास बढ्नुका साथै स्वरोजगार र उद्यम विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नन्दन सामुदायिक वन उपभोक्ता समूहले महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सिलाई–कटाई तालिमसमेत सञ्चालन गरिरहेको छ। त्रिनेत्र प्रतिष्ठानको सभाहलमा सञ्चालन भइरहेको उक्त तालिमले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य लिएको समूहले जनाएको छ।

समूहले वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै विभिन्न आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा समूहका कार्यसमिति सदस्य, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3