गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३६ औँ स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा सदस्यका लागि भर्चुअल कार्ड सेवा शुभारम्भ गरेको छ । सहकारी क्षेत्रमा नेपालमै पहिलोपटक भर्चुअल कार्डमार्फत सेवा सुरु गरिएको संस्थाले जनाएको छ।
विकूका सूचना तथा प्रविधि विभाग प्रमुख सङ्केत कँडेलकाअनुसार मोबाइल बैंकिङ एपबाट चलाउन, कार्ड माग गर्न, नवीकरण गर्न, कार्ड ब्लक र अनब्लक गर्न तथा इकमर्स व्यवसायमा सहज भुक्तानी गर्न मिल्ने छ । अन्य बैंकका एससिटी नेटवर्कभित्रका एटिएम कार्डसमेत यस कार्डमा एड गर्न मिल्ने उहाँले बताउनुभयो । चाँडै नै विकूको एपबाट भारतमा क्यूआर भुक्तानी मिल्ने सुविधा सञ्चालनमा ल्याउन लागेको उहाँको भनाइ छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले भर्चुअल कार्ड सेवाको उद्घाटन गर्नुभएको हो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीले नीति, विधि र प्रविधिमा सञ्चालन भएका सहकारी कहिल्यै पनि नडुब्ने बताउनुभयो । विकू नवलपुर क्षेत्रको मात्र नभएर नेपालकै उत्कृष्ट सहकारी भएकाले यो सहकारी अध्ययनको धलो बन्दै गएको उप्रेतीको भनाइ रहेको थियो ।
३६ वर्ष अगाडि २६ जना सदस्यबाट सुरुआत भएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सङ्ख्या एक लाख ३५ हजार नाघेका विकूको संस्थापक अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । उहाँकाअनुसार गैँडाकोटका २६ जना युवाहरुले दैनिक ५० पैसा रकम सङ्कलन गरेर सुरु गरेको सहकारी संस्थामा अहिले रु आठ अर्ब ८० करोड निक्षेप तथा रु ८१ करोड शेयर पुँजी पुगेको छ । नवलपरासी र चितवनमा २४ वटा शाखामार्फत कारोबार गर्दै आएको विकू सदस्य र कारोबारको हिसाबले नेपालकै दोस्रो ठूलो बचत तथा ऋण सहकारी संस्था भएको उहाँले बताउनुभयो ।

समाजमा व्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने तथा सदस्यबाट संकललित बचतलाई सदस्यहरु भित्रै परिचालन गरि विभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रवद्र्धन गर्नु विकूको मुख्य उद्देश्य रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष ओमप्रसाद सापकोटाले बताउनुभयो । विकूले २०५४ सालदेखि नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति प्राप्त गरि कारोबार गर्दै आएको सापकोटाले बताउनुभयोे ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष नारायण प्रसाद सापकोटाले वित्तीय, गैरवित्तीय तथा उच्च प्रविधियुक्त सेवा सहज र सर्वसुलभ तरिकाले प्रदान गर्दै विकू स्थानीयको पहिलो रोजाईसँगै नेपालको उत्कृष्ट सहकारी बनेको बताउनुभयो ।
विकूले ३६औँ वार्षिकोत्सवको अवसरमा सुरु गरिएको यस विकू भर्चुअल कार्ड एटिएम कार्डको विकल्पमा ल्याइएको विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । विकूले नेपालमै पहिलोपटक सहकारीहरुमध्ये अन्य बैंकमा रु एक लाख सम्म रकमान्तर गर्न मिल्ने सुविधा ल्याएको समेत सापकोटाको भनाइ छ । विकूलाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने योजना रहेको पनि सापकोटाले बताउनुभयो ।

सस्थाका लेखा सुपेरिबेक्षण समिति संयोजक कमल सुबेदीले सक्षम नेतृत्व, कुशल व्यवस्थापन, स्पष्ट लक्ष्य र सुशासनका कारण संस्थाले निरन्तर उपलब्धि हासिल गर्न सकेको बताउनुभयो ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले सदस्यलाई थप प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग र प्रवद्र्धन गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड चितवनका अध्यक्ष विद्या कोइराला, जिल्ला सहकारी सघं लिमिटेड चितवनका अध्यक्ष शरद कुमार बर्तौला , जिल्ला बचत तथा ऋण सहकारी सघं लिमिटेड नवलपुरका अध्यक्ष बद्रीनाथ नेपाल, जिल्ला सहकारी सघं लिमिटेड नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुली, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटा, इम्फोडेभलपर्स प्रालीका प्रमुख कार्यकारी अधिकृत प्रजय नेपाल, जिल्ला उद्योग वाणिज्य सघं गैडाकोट नवलपरासी (ब.सू.पु.)का अध्यक्ष छविलाल कँडेल, नुरा हेल्थ एण्ड रिसर्चका कन्ट्री डाइरेक्टर डाक्टर सुशील कोइराला, सेवाकेन्द्रको तर्फबाट पूर्णबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट कर्मचारी, उत्कृष्ट सेवा केन्द्र प्रमुख तथा उत्कृष्ट सेवा केन्द्रलाई सम्मान गरिएको थियो। उत्कृष्ट सेवा केन्द्रतर्फ गरिमा सेवा केन्द्र, उत्कृष्ट व्यवस्थापन उपसमितितर्फ स्वागत सेवा केन्द्र र उत्कृष्ट सिक्स–एस मूल्याङ्कनमा कालिगण्डकी सेवा केन्द्र पुरस्कृत भएका छन् । सदस्य विस्तारतर्फ कावासोती सेवा केन्द्र तथा प्रविधि प्रयोग र नियमित बचतमा सदस्यको उच्च सहभागितातर्फ अमरापुरी सेवा केन्द्र सम्मानित भएको छ ।

त्यस्तै, सेवा केन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगितामा केन्द्रीय सेवा केन्द्र प्रथम, हिमकिरण सेवा केन्द्र द्वितीय र श्रीगणेश सेवा केन्द्र तृतीय भएका छन् । उत्कृष्ट कर्मचारीतर्फ धनमाया न्यौपाने, बासुदेव ढकाल, कुसुम न्यौपाने, अस्मिता खड्का र गोमा कुमारी लुइटेललाई सम्मान गरिएको छ ।
वार्षिकोत्सवका अवसरमा शुक्रबार गैँडाकोटमा सञ्चालक, केन्द्रीय उपसमिति तथा सेवा केन्द्र उपसमितिबीच म्युजिकल चियर प्रतियोगिता पनि सञ्चालन भएको थियो । संस्थाका २४ वटै सेवा केन्द्रमा साझ दीप प्रज्वलन पनि गरिएको थियो ।
वार्षिकोत्सवकै अवसरमा संस्थाले यसअघि तीन चरणमा वक्तृत्वकला प्रतियोगिता, रक्तदान, मानव सेवा सहयोग, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तब्य मार्फत सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।
२०४८ सालमा स्थापना भएको विकूले हाल २४ वटा सेवा केन्द्रमार्फत चितवन र नवलपरासीका करिब १ लाख ५० हजार सदस्यलाई आधुनिक तथा प्रविधिमैत्री वित्तीय र गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।









