बर्दिबास । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती यहि असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा आयोजना हुने भएको छ । ‘हाम्रो अभियानः लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल उद्देश्यसहित आयोजना हुने महाधिवेशन बर्दिबास नगरपालिका–गौरीडाँडास्थित खुला मञ्चमा हुने प्रतिष्ठानले जनाएको छ। ।
प्रतिष्ठानका अनुसार महाधिवेशनमा देशभरबाट महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब १ हजार ५ सय जनाको सहभागिता रहनेछ । सहभागीको व्यवस्थापनका लागि बर्दिबास क्षेत्रमा करिब १ हजार जनाका लागि होटल बुकिङ भइसकेको र बाँकीका लागि ढल्केबर तथा लालगढ क्षेत्रमा आवासको व्यवस्था गरिने तयारी गरिएको छ । त्यसका साथै आवश्यक परे जनकपुरधाम सम्म आवास व्यवस्थापन विस्तार गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, अग्रज कलाकार तथा स्रष्टा, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा लोकसंस्कृतिप्रेमीहरूको सहभागिता रहनेछ ।रजत जयन्तीका अवसरमा प्रतिष्ठानको २५ वर्षे यात्रामा योगदान पुर्याएका अग्रज तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ । लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन तथा कलाकारको हकहितका विषयमा समेत महाधिवेशनमा छलफल हुने बताइएको छ ।
प्रतिष्ठानको संस्थागत यात्रा २०५७ साल असोजमा नवलपरासीको अरुणखोलामा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर विरही गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन भएसँगै सुरु भएको हो । प्रतिष्ठानको विधान–२०५८ ले गुरुङलाई संस्थापक अध्यक्षका रूपमा उल्लेख गरेको छ ।
प्रतिष्ठानका अनुसार हाल देशका सातै प्रदेश, ७० जिल्ला, उपत्यका तथा विदेशमा समेत गरी करिब १०० समिति रहेका छन् । प्रतिष्ठानमा करिब ४५ सय आजीवन सदस्यसहित ठूलो संख्यामा कलाकार, स्रष्टा तथा शुभेच्छुक आबद्ध रहेको जनाइएको छ ।









