गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाको ३१औँ वार्षिक साधारण सभा अन्तर्गत इकाई सभाहरू सम्पन्न।
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारण सभा अन्तर्गत दलदले देखि पश्चिम र पूर्व गरी दुई इकाईमा सदस्यहरुको उत्साहजनक सहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ ।
इकाई नं। १ अन्तर्गत असोज १७ गते थारु राष्ट्रिय सङग्रहालय तथा अनुसन्धान केन्द्र कावासोती १६, डण्डाबजारमा पञ्चदृष्टि, देवज्योति, कावासोती, विष्णुनगर, पिठौली, संवृद्धि, कुनाको, पञ्चवटी, भविष्यनिर्माण, अरुणखोला, दुम्किबास र सर्दी सेवाकेन्द्र अन्तर्गतका सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
त्यसैगरी इकाई नं। २ अन्तर्गत असोज १८ गते नारायणी रिसोर्ट, नारायणी किनार, गैंडाकोटमा सौहार्द, समृद्धि भरतपुर, सप्तगण्डकी, सप्तरङगी, नारायणगढ, हिमचुली, सहज, विजयनगर, मुकुन्दपुर, हर्कपुर, अमरापुरी र जनमुखी सेवाकेन्द अन्तर्गतका सदस्यहरुको उपस्थितिमा हरुको ३१औँ वार्षिक साधारण सभामा सम्पन्न भएको छ । दुबै इकाई सभाको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गर्नुभएको थियो ।
साधारणसभामा अतिथि उपस्थिति र औपचारिक कार्यक्रमहरु न्यूनीकरण गर्ने नियामकीय निर्देशन बमोजिम सदस्यहरुको मात्र उपस्थितिमा इकाई सभाहरु सम्पन्न गरिएको छ । इकाई नं.१ को शुभारम्भ उक्त सभामा उपस्थित सदस्यहरुमध्ये जेष्ठ सदस्य ९१ वर्षीय डोलकुमारी अधिकारीले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो । भने इकाई नं.२ को शुभारम्भ उक्त सभामा उपस्थित सदस्यहरुमध्ये जेष्ठ सदस्य ९३ वर्षीय यज्ञ प्रसाद भट्टराइले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।
दुबै इकाई सभाहरुमा सम्बोधनको क्रममा संस्थाको विगत र वर्तमानको अवस्था साथै संस्था र सदस्यहरुबीचको सम्बन्धका सम्बन्धमा संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतमले संस्थालाई गतिशील र पारदर्शी ढंगले सदस्यहरुको बचत सुरक्षाको सुनिश्चित गर्दै सदस्य सेवामा केन्द्रित गर्ने र नियामक निकायका निर्देशनहरुलाई पालना गर्दै गइरहेको भन्दै सदस्य र संस्थाको हित नै नेतृत्वको प्राथमिकता हुने गरेको बताउनुभयो । त्यसैगरी संस्थाका निवर्तमान अध्यक्ष एवं ऋण उपसमिति संयोजक श्रीहरि चालिसे ज्यूले मन्तव्य राख्नुहुदै संस्थाका हरेक सेवा तथा सुविधा उत्कृष्ट रहेको र केही गर्छु भन्ने सदस्यहरुलाई संस्थाले वित्तीय पहुँच प्रभावकारी बनाएको भन्दै कुनै पनि सदस्यले अब बचत र ऋण लगायतका कुनैपनि वित्तीय कारोबार गर्न किसान साकोसको विकल्प खोज्नु नपर्ने गरी सेवा प्रवाह गरेको कुरामा सदस्यहरुलाई आश्वस्त पार्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष एवम् साधारणसभा तयारी उपसमिति संयोजक चिन्तामणी कण्डेललेदुईवटै सभामा उपस्थित सदस्यहरुलाई स्वागत गर्दै संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनु भएका सदस्यहरुको उच्च प्रशंसा गर्दै विभिन्न विधामा उत्कृष्ट कारोबार गर्नुहुने सदस्यहरुलाई शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
पूर्वनिर्धारित कार्यसूचीमा छलफल सहित निर्णय गर्ने गरि सन्चालित सभामा विभिन्न १३ वटा कार्यसूचीमा छलफलगरिएको थियो । सभामा अघिल्लो आ।व। २०८२र०८३ को प्रगति प्रतिवेदन तथा आ।व। २०८३र०८४ प्रस्तावित नीति तथा कार्यक्रम, गत आ।व।को वित्तीय प्रतिवेदन र चालू आ।व। २०८३र०८४ को प्रस्तावित बजेट, लेखासुपरिवेक्षण समितिको तर्फबाटआ।व। २०८२÷०८३ गरिएको आन्तरिक लेखापरीक्षण सहितको वार्षिक प्रतिवेदन, स्वतन्त्र लेखापरीक्षकद्वारा गरिएको आ।व। २०८२÷०८३ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, लगायतका प्रतिवेदनहरु प्रस्तुत भई सर्वसम्मत पारित गरिएको थियो ।
दुईवटै इकाई सभाहरुमा कार्यक्रमिक प्रतिवेदन र नीति तथा कार्यक्रम सहसचिव दुर्गाप्रसाद चालिसेले, वित्तीय प्रतिवेदन र प्रस्तावित बजेट कोषाध्यक्ष, राजेन्द्र गौतमले, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन एवम् लेखापरीक्षकको अनुपस्थितिमा स्वतन्त्र लेखापरीक्षण प्रतिवेदन समेत लेखा सुपरिवेक्षण समिति संयोजक तिलक पराजुलीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाको परिकल्पना “समृद्ध सदस्य, दिगो साकोस” साकार पार्न संस्थाले अवलम्बन गर्ने रणनीतिक विषयहरुका साथै संस्थाको विद्यमान अवस्था र आगामी प्राथमिकताका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय राज तिमिल्सीनाले विस्तृत विवरण सहित जानकारी गराउनुभएको थियो । दुबै इकाई सभाहरुमा उपस्थित सदस्यहरुले संस्थाप्रतिका आफ्ना अनुभूति, अपेक्षा र प्रतिवेदन तथा प्रस्ताव उपर विभिन्न जिज्ञासा एवम् सुझावहरु राख्नुभएको थियो । सदस्यहरुबाट प्राप्त सुझावहरुको आन्तरिकीकरणको प्रतिबद्धता सहित जिज्ञासा सम्बन्धमा विषयगतरुपमा संस्था सञ्चालक समितिको तर्फबाट सम्बोधन गरिएको थियो ।
इकाई नं.२ को इकाई सभा सञ्चालन सहजीकरण संस्थाका सचिव सरस्वती कण्डेलले र इकाई नं.१ को इकाई सभा सञ्चालन सहजीकरण संस्थाका विभागीय प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो । इकाई सभा व्यवस्थापनका लागि छुट्टा छुट्टै कार्यदल गठन गरिएकोमा उत्कृष्टरुपमा सभा सम्पन्न गर्न योगदान गर्नुहुने सदस्य लगायत सरोकारवाला पक्षहरुलाई व्यवस्थापन कार्यदलको तर्फबाट इकाई नं.१ का संयोजक एवम् सञ्चालक समिति सदस्य देवी घिमिरे र इकाई नं.२ का संयोजक डिलाराम सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, पूर्वअध्यक्षहरु, सल्लाहकार, केन्द्रीय विषयगत उपसमिति, सेवाकेन्द व्यवस्थापन उपसमिति, कर्मचारी र सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा उत्कृष्ट बचतकर्ता सदस्यहरु, उत्कृष्ट समुहहरु, उत्कृष्ट प्रबिधि प्रयोगकर्ता सदस्यहरु र ऋणी सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाको ३१ औं वार्षिक साधारणसभा अन्तर्गत निर्णय प्रमाणीकरणका लागि इकाई प्रतिनिधिहरूको बैठक असोज २४ गते होटल द नारायणी, कालीगण्डकी चोक,गैंडाकोटमा आयोजना गरिने भएको छ।











