गैँडाकोट, मंसिर ३(हिमालदेव पंगेनी)। पढाइसँगै कला, सिर्जना र प्रतिभाको उजागर गर्ने उद्देश्यका साथ जनक नमुना माध्यमिक विद्यालयमा कक्षा ९ का विद्यार्थीहरूद्वारा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी कक्षा १२ को अनिवार्य अंग्रेजी विषयअन्तर्गत ‘Play in One Act’ शीर्षकमा समावेश पहिलो नाटक ‘A Matter of Husband’ भव्य रूपमा मञ्चन गरिएको छ।
पाठ्यक्रममा आधारित सिकाइलाई व्यवहारमा उतार्दै विद्यार्थीहरूको सिर्जनशीलता र प्रस्तुतिकरण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले उत्कृष्ट अभिनय, संवाद कला, आत्मविश्वास र जीवन्त प्रस्तुतिमार्फत उपस्थित दर्शकहरूको मन जित्न सफल भएका थिए।
विद्यालयका शिक्षक एवं विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि दीपक ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद घिमिरे प्रमुख अतिथिका रूपमा रहनु भएको थियो।त्यसैगरी कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक द्वय राजनबाबु अधिकारी, हिमालय देव पंगेनी, कक्षा ११–१२ व्यवस्थापन संकायका संयोजक प्रेम आचार्य, QAP तथा अंग्रेजी विभाग संयोजक मनोजविक्रम बिष्ट र परीक्षा संयोजक विष्णु रिजाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यस्तै, शिक्षक मुकुन्द न्यौपाने, पार्बती गौडेल, दुर्गा नेपाल लगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै सहायक प्रधानाध्यापक हिमालदेव पङ्गेनीले यस्ता सिर्जनात्मक तथा पाठ्यक्रममा आधारित गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, सामूहिक कार्यभावना, संवाद कला र प्रस्तुति सीपको विकास गर्नुका साथै उनीहरूभित्र लुकेका प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो।
त्यस्तै प्रमुख अतिथि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द घिमिरेले शिक्षा केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नरही सिकाइलाई व्यवहारमा उतार्दै विद्यार्थीभित्रको प्रतिभा पहिचान, प्रस्फुटन र प्रोत्साहन गर्नु नै गुणस्तरीय शिक्षाको सुन्दर पक्ष रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण अंग्रेजी विभाग संयोजक मनोजविक्रम बिष्टले गर्नुभएको थियो ।










