गैँडाकोट । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न आयोजना हुने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन नवलपुरका खेलाडीहरू पोखरा प्रस्थान गरेका छन्।
मंसिर ३ गतेदेखि ६ गतेसम्म पोखरामा सञ्चालन हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा नवलपुर जिल्लाबाट छनोट भएका १६ जना खेलाडीले सहभागिता जनाउने भएका हुन्। छनोट प्रतियोगितामा महिला तथा पुरुष ग्योरोगी र महिला पुम्से विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
खेलाडीहरूलाई आज गैँडाकोट नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच बिदाई गरिएको हो। बिदाई कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले खेलाडीहरूलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शन गर्न र जिल्लाको नाम राष्ट्रिय स्तरमा चिनाउन आग्रह गर्नुभयो।

नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष भूमिश्वर भुसाल(राजु)का अनुसार छनोट प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नवलपुरको प्रतिनिधित्व गर्ने लक्ष्य राखेका छन्। खेलाडीहरूको मेहनत, अनुशासन र लगनशीलताले जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाइमा पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
छनोट प्रतियोगितामा सहभागी खेलाडीहरूमा महिला ग्योरोगी तर्फ,बिन्दु सिंह ठकुरी — ४६ केजी,हुमकला बाइघरे — ४९ केजी,सुस्मिता कुमाल — ५३ केजी,मनु थापा — ५७ केजी,आकृति थनेत — ६७ केजी,र महिला पुम्से तर्फ – सिम्रन क्षेत्री रहेका छन । तेस्तै पुरुष ग्योरोगी तर्फ,मौसम गुरुङ — ५४ केजी,आदित्य खण्डलुक मगर — ५८ केजी,दुर्गा प्रसाद चौधरी — ६३ केजी,हरि बहादुर परियार — ६८ केजी, मनिष महतो — ७४ केजी,सूचित पाण्डे — ८० केजी, सन्देश विक — ८७ केजी र राजिव गुरुङ — ८७ केजी रहेका छन । टोलीको प्रशिक्षकमा नवीन गुरुङ तथा टिम व्यवस्थापकमा रोजन घिमिरे रहेका छन्।
बिदाई कार्यक्रममा जिल्ला उद्योग वाणिज्य सङ्घ गैडाकोटका प्रथम उपाध्यक्ष नवराज कडेल , समाजसेवी युवानेता विनोद कण्डेल, गैँडाकोट नगरपालिकाका कर्मचारी, तेक्वान्दो प्रशिक्षक, खेलकुदप्रेमी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। जिल्लाबाट छनोट प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट नतिजा हासिल गर्दै राष्ट्रिय प्रतियोगितामा स्थान बनाउने अपेक्षा गरिएको छ।









