भदौ ७,गैंडाकोट । हरिहर टोल विकास संस्थाले आजबाट बालमैत्री असल संस्कार शिक्षा कक्षा शुभारम्भ गरेको छ । कक्षाको शुभारम्भ गैंडाकोट वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले गर्नुभयो । वडा अध्यक्ष सापकोटाले “बालबालिकालाई सानै उमेरदेखि असल संस्कार र नैतिक शिक्षा प्रदान गर्न सकेमा उनीहरू भविष्यमा असल र जिम्मेवार नागरिक बन्ने बताउनुभयो।। उहाँले यस्ता बालमैत्री कार्यक्रमलाई निरन्तरता दिन वडा कार्यालयको सहयोग रहने बताउनुभयो।
आजको कक्षामा नारायणी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले बाल बालिकालाई असल संस्कार नै हाम्रो जीवनको सफलताको आधार हो भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियोे । गैंडाकोट वडा नं ७ का ६० जना बालबालिकाको कार्यक्रममा सहभागीता रहेको थियोे ।
हरिहर टोल विकास संस्थाका अध्यक्ष मीनप्रसाद सापकोटाले “बालबालिकामा असल संस्कारको विकास गर्ने उद्देश्यले यो कक्षा सञ्चालन गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि बालबालिकाको व्यक्तित्व विकास र सकारात्मक सोच निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि , सामाजिक संघसंस्थाका प्रतिनिधि , टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे । हरिहर टोल विकास संस्थाका अध्यक्ष मीनप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव बुद्धिप्रसाद भूषालले सहजीकरण गर्नुभएको थियोे ।








