२७ साउन,गैंडाकोट। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गैंडाकोट जेसिजले माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। युवामा नेतृत्व क्षमता, आत्मविश्वास तथा आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने सीपको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
बुधबार जनक नमुना माध्यमिक विद्यालयको आदर्श ब्लकस्थित सभाहलमा सम्पन्न प्रतियोगितामा लक्ष्मी मा.वि.कि छात्रा तपस्या कंडेलले प्रथम स्थान हासिल गर्नुभएको छ। तेस्तै अमर ज्योती मा.वि.को छात्रा अन्जली भुसालले द्धितिय स्थान हासिल गर्नुभएको छ । गैडाकोट इङलिस स्कुलकि छात्रा हिल्सन पौडेलले तृतिय स्थान र सरस्वती निकेतनकि छात्रा सर्बना पाठकले सान्त्वना स्थान हासिल गर्नु भएको छ । प्रतियोगिताका बिजेताले प्रथम पुरस्कार १० हजार रुपैयाँ, द्वितीय ८ हजार रुपैयाँ, तृतीय ६ हजार रुपैयाँ तथा सान्त्वना स्थानलाई ४ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको गैडाकोट जेसीज वर्ष २०२६ का शाखा अध्यक्ष ईश्वर पौडेलले जानकारि दिनुभयो ।
गैंडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा रहेको प्रतियोगितामा गैंडाकोट नगरपालिका भित्रका विभिन्न विद्यालयबाट कक्षा ९ देखि १२ सम्म अध्ययनरत ३७ जना छात्रछात्राको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल जेसिजका केन्द्रीय अध्यक्ष जीवन कार्कीले युवाको क्षमता विकास र नेतृत्व निर्माणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले युवाको प्रतिभा प्रस्फुटनका लागि स्थानीय तह, विद्यालय र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
त्यस्तै, गैंडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थीको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिनुपर्ने बताउनुभयो।
गैंडाकोट जेसिजका संस्थापक अध्यक्ष बद्री सापकोटाले युवाको नेतृत्व क्षमता विकासमा जेसिजले निरन्तर कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो।
गैडाकोट जेसीज वर्ष २०२६ का शाखा अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगिताका संयोजक सुभाष सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । गैंडाकोट जेसिजका महासचिव कमल तिवारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा गैंडाकोट जेसिजका पदाधिकारी तथा सदस्य, सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थी, सामाजिक व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।
गैंडाकोट जेसिजले पछिल्लो समय युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। यसअघि जेसिजले नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसनसँगको सहकार्यमा गैंडाकोट–६ मा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। त्यस्तै, युवालाई सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा समुदायसँग जोड्ने उद्देश्यले विभिन्न सचेतनामूलक, क्षमता विकास तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको गैंडाकोट जेसिजले जनाएको छ।







