spot_img

Monday, December 29, 2025

चौथो गैँडाकोट महोत्सवको ६० प्रतिशत काम सकियो /महोत्सवले उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने

गैँडाकोट । पुस २५ गतेदेखि सुरु हुने चौथो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग वाणिज्य संघ गैँडाकोटको आयोजनामा हुन लागेको महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा आयोजकले गरेको  छ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष छबिलाल कंडेलले  अहिले सम्म  महोत्सवको करिब ६० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार बाँकी तयारी कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

“महोत्सवको भौतिक संरचना, स्टल व्यवस्थापन, सुरक्षा योजना र सांस्कृतिक कार्यक्रमको तालिका लगभग टुंगिएको छ। बाँकी काम समयमै सम्पन्न गर्ने गरी सबै उपसमितिहरू सक्रिय रूपमा लागेका छन्,” कंडेलले भन्नुभयो।

आयोजकका अनुसार महोत्सवमा करिब २५० स्टल, २ लाखभन्दा बढी दर्शक र २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको छ। देशभरका उद्योगी–व्यवसायीसँगै भारत, पाकिस्तान र बंगलादेशका प्रदर्शकहरूको समेत सहभागिता रहनेछ।

महोत्सवलाई प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी चार मुख्य क्षेत्रमा विभाजन गरिएको छ। अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक्स, कृषि तथा जडिबुटी, हस्तकला, तयारी पोशाकदेखि दैनिक उपभोग्य वस्तुसम्मका विविध स्टल रहने आयोजकले जनाएको छ।

उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव तेजनारायण पान्डेले महोत्सवले स्थानीय उद्यमी र किसानलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो।“यो महोत्सव स्थानीय उत्पादनलाई बजारसँग जोड्ने सशक्त माध्यम हो। उद्यमी, किसान र व्यवसायीले आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने ठूलो अवसर पाउनेछन्,” पान्डेले भन्नुभयो।

त्यसैगरी प्रचार–प्रसार समितिका संयोजक शालिकराम सापकोटाले महोत्सवलाई राष्ट्रियस्तरमा चिनाउन व्यापक प्रचार अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।“सामाजिक सञ्जाल, डिजिटल मिडिया, छापा तथा स्थानीय एफएममार्फत महोत्सवको प्रचार भइरहेको छ। गैँडाकोटलाई व्यापार र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” सापकोटाले बताउनुभयो।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, फेशन शो, विद्यालय तथा सांस्कृतिक समूहका कार्यक्रम समावेश गरिनेछ। बाल उद्यान क्षेत्रमा मनोरञ्जनात्मक खेल सामग्रीका साथै जलपरी र माछाका एक्वेरियम आकर्षणका रूपमा रहनेछन्।

सुरक्षालाई ध्यान दिँदै महोत्सव स्थलमा सिसिटिभी निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार सेवा,  पार्किङ तथा सरसफाइ व्यवस्थापन गरिने आयोजकले जनाएको छ।आयोजकले महोत्सव सफल बनाउन सम्पूर्ण स्थानीयवासी, व्यवसायी, संघ–संस्था तथा सरोकारवालाको सक्रिय सहभागिता र सहयोगको आग्रह गरेका छन्।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :