गैँडाकोट । गैँडाकोट आधारभूत अस्पतालमा आज देखि स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु शुभारम्भ गरिएको छ । आईतवार अस्पतालको प्राङगढ्मा कार्यक्रम गदै गैँडाकोट ५मा रहेको अस्पताललाई स्वास्थ्य बीमाको प्रथम बिन्दु तोकिएपछि नगरवासीलाई सहज हुने भएको छ ।
नेपाल सरकार स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई ग्रामीण तहसम्म प्रभावकारी रूपमा विस्तार गर्न बोर्ड प्रतिबद्ध रहेको बताउनु भयो। कार्यकारी निर्देशक डा. काफ्लेले स्वास्थ्य बीमाको पहुँच बढे सँगै स्थानीयवासीले सस्तो, सरल र गुणस्तरीय उपचार सेवा पाउने बताउनु भयो।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले स्वास्थ्य बीमा कार्यक्रम सुरु हुनु गैँडाकोट नगरवासीका लागि ऐतिहासिक उपलब्धि भएको बताउनु भयो। नगरप्रमुख अधिकारीले नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखी आधारभूत पूर्वाधार र जनशक्ति व्यवस्थापनमा निरन्तर काम गरिरहेको छ । अधिकारीले भन्नुभयो “अब बीमा प्रणालीमार्फत नगरवासीलाई उपचारको बोझ कम गर्ने लक्ष्यसहित अघि बढ्छौँ ”।
त्यस्तै, गैँडाकोट नगरपालिकाका सस्थापक नगरप्रमुख छत्रराज पौडेलले स्वास्थ्य बीमा सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै तहको सक्रियता जरुरी रहेको बताउनुभयो। सस्थापक नगरप्रमुख पौडेलले स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य र सुलभ हुनुपर्ने बताउनुभयो।
गैँडाकोट नगरपालिकाको नगर उपप्रमुख शान्ति कोइरालाले नगर स्तरमै स्वास्थ्य सेवा सहज बनाउन बीमा कार्यक्रम महत्वपूर्ण हुने बताउँदै यसलाई प्रभावकारी बनाउन नगरवासीको सहकार्य आवश्यक रहेको बताउनु भयो । ।स्वास्थ्य शिक्षा जस्ता संवेदनशील विषयमा नगरपालिका संवेदनशील भएर अझै नागरिकलाई सहज हुने किसिमले काम गर्ने उपप्रमुख कोइरालाले बताउनुभयो।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नगरले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत खनालले अब नगरवासीले सहज रुपमा स्वास्थ्य सेवा पाउने बताउनु भएको छ। कार्यक्रममा वडाध्यक्षहरू,वडासदस्य, वडाबासि र धार्मिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा जनस्वास्थ्य निरीक्षक माधब आचार्यले सहजिकरण गर्नु भएको थियो ।
स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ अनुसार भएको सहकार्यले स्थानीय नागरिकलाई समयमै निःशुल्क वा न्यून शुल्कमा उपचार पाउने सुनिश्चितता प्रदान गर्नेछ। गैँडाकोट आधारभुत अस्पतालले अब बीमित सेवाग्राहीलाई आवश्यक उपचार, औषधि, आकस्मिक सेवा र रेफरल सुविधा उपलब्ध गराउने छ।