spot_img

Monday, January 20, 2025

पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब सरकारी ऋण थपियो

 माघ ६, काठमाडौँ  । चालू आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

‘चालू आर्थिक वर्षको सुरूमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रहेकामा पुस मसान्तसम्ममा एक खर्ब दुई अर्ब तीन करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व रू २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलब ४६ प्रतिशत हुन आउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलब ३१ प्रतिशत अर्थात् १३ खर्ब एक अर्ब ४१ करोड ७३ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनसँग बाह्य ऋणको अनुपात २२ दशमलव ८१ प्रतिशत हो ।

त्यस्तै, कूल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलब ६८ अर्थात् १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको प्रतिशत २१ दशमलव ६४ प्रतिशत हो ।

सरकारले चालू आर्थिक वर्षमा कूल रू पाँच खर्ब ४७ खर्ब ऋण उठाउने लक्ष्य राखेकामा गत पुस मसान्तसम्ममा रू दुई खर्ब ४० अर्ब आठ करोड ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको ऋण प्राप्ति ४३ दशमलव ८९ प्रतिशत हो ।

चालू आर्थिक वर्षका लागि तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेकोमा पुस मसान्तसम्ममा एक खर्ब ८१ अर्ब पाँच करोड अर्थात् वार्षिक लक्ष्यको ५४ दशमलब ८६ प्रतिशत ऋण उठाइएको छ । त्यस्तै दुई खर्ब १७ अर्ब आन्तरिक ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा पुस मसान्तसम्ममा २७ दशमलब २० प्रतिशत अर्थात् ५९ अर्ब तीन करोड प्राप्ति भएको छ ।

सार्वजनिक ऋणको सावाँ ब्याज तिर्नका लागि सरकारले चालू आर्थिक वर्षका लागि चार खर्ब दुई अर्ब ८५ करोड विनियोजन गरेको छ । गत पुस मसान्तसम्ममा सावाँ ब्याज तिर्न एक खर्ब ८२ अर्ब ४० करोड खर्च भएको छ ।

यो वार्षिक बजेट विनियोजनको आधारमा ४५ दशमलब २८ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा पुस मसान्तसम्ममा कूल ऋण सेवा खर्च तीन दशमलव २० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।–रासस

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार