spot_img

Saturday, January 4, 2025

दोस्रो गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश बहादुर पालले जिते

पुस १५ गैँडाकोट । गैँडाकोट हाफ म्याराथन दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश बहादुर पालले जितेका छन् । उनले निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा १६ मिनेट ८ सेकेण्डमा पुरा गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् । पालले एक लाख रुपैँया पुरस्कार, मेडल र प्रमाणपत्र पाए ।

हाफ म्याराथनको दोस्रो स्थान शसस्त्र प्रहरीका गोपीचन्द्र पार्केले हात पारे । उनले निर्धारित दुरी १ घण्टा १७ मिनेट ४३ सेकेण्डमा पुरा गरी ५० हजार पुरस्कार हात पारेका छन् । तेस्रोे स्थान त्रिभुवन आर्मी क्लबका नरेन्द्र सिंह रावतले जितेका छन् । उनले निर्धारित दुरी १ घण्टा १८ मिनेट ५१ सेकेण्डमा पुरा गर्न सफल भए । विजयी भएसँगै उनले २५ हजार पुरस्कार हात पारे ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

महिलातर्फ त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने प्रथम भइन् । उनले सोही दुरी १ घण्टा ४८ मिनेट ४६ सेकेण्डमा पार गरिन । उनले २५ हजार पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गरिन् । दोस्रो स्थान गैँडाकोट नगरपालिका वाड नं. ६ की अनु मगरले प्राप्त पारिन । उनले निर्धारित दुरी २ घण्टा ४१ मिनेट ०५ सेकेण्डमा पुरा गरेकी थिइन् । मगरले १५ हजार पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेकी छन् ।  महिला तर्फ तेस्रो स्थान चितवन कालिका नगरपालिका वाड नं. ८ की सुनिना मगरले प्राप्त गरिन् । उनले निर्धारित दुरी ३ घण्टा १ मिनेट ३७ सेकेण्डमा पुरा गरेकी थिइन् । विजयी भएसँगै उनले १० हजार पुरस्कार प्राप्त गरेकी छन् ।

हाफ म्याराथनको २१ किलोमिटर विधातर्फ मात्र १४१ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा चाँैथोदेखि आठौँ स्थान हासिल गर्ने ५ जना उत्कृष्ट धावक प्रोत्साहन स्वरुप जनही ५ हजारका दरले पुरस्कृत भएका छन् । क्रमशः सञ्जय श्रेष्ठ, रामजी बस्नेत, धनु मानन्धर, मिङमार सिंह तामाङ र खेमबहादुर शाहीले जनही ५ हजार पुरस्कार प्राप्त गरेका हुन्। अपाङ्गता भएका व्यक्ति जसले म्याराथनमा सहभागि भइ १० औँ स्थान हासिल गरेका  नमराज कार्कीले ३ हजार रुपैँया पुरस्कार प्राप्त गरे ।

त्यस्तै ५ किलोमिटर तर्फ विद्यार्थी मैत्री दौड प्रतियोगितामा जनक नमुना माध्यमिक विद्यालयका मनुप थापा प्रथम भए । उनले निर्धारित दुरी ३२ मिनेट ३५ सेकेण्डमा पुरा गरे । उनले १० हजार पुरस्कार प्राप्त गरे । कालिका नमुना माध्यमिक विद्यालयका विद्यार्थी अनमोल भुषालले ३२ मिनेट ४४ सेकेण्डमा पुरा गरी दोस्रो स्थान प्राप्त गरे । उनले ५ हजार पुरस्कार प्राप्त गरे । जनक नमुना माध्यमिक विद्यालयका विद्यार्थी दिपेश मगर तेस्रो भए । ३२ मिनेट ५२ सेकेण्डमा दुरी पार गरी उनले ३ हजार पुरस्कार प्राप्त गरे । यस प्रतियोगितामा ८ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

विजय फाउण्डेसन नेपालको आयोजनामा भएको प्रथम गैँडाकोट हाफ म्याराथन २०८१ मा २ सय ४३ जना बढिको सहभागिता रहेको थियो ।

विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले नेपाली पन, नेपाली मन र नेपाली धन भन्ने नारा सहित स्थापित फाउण्डेशनले गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको बताए । स्वास्थ्य र खेलकुदमा अब गैँडाकोट अघि बढेको सापकोटाले बताए । उनले गैँडाकोटमा हाफ म्याराथनले नयाँ प्रतिभा प्रष्फुटन गराउन सहयोग गरेको र अब गैँडाकोट नै म्याराथन मय हुने बताए ।

गैँडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले खेलकुद स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताउँदै विजय ग्रुप अफ इन्स्टिच्युसनको कामको प्रशंसा गरेका थिए । उनले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडाध्यक्षहरूको प्रतिनिधित्व गर्दै गैँडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले स्वास्थ्य र पहिचानका लागि हुने यस्ता खेल र प्रतियोगिताले निरन्तरता पाउनुपर्ने बताए ।

विशिष्ट अतिथि अन्तर्राष्ट्रिय म्याराथन धावक वैकुण्ठ मानन्धरले मोफसलमा यस खालका कार्यक्रमको लागि विजय फाउण्डेशनसँगै विजय परिवारको कामले प्रभावित भएको बताएका छन् ।

एथलेटिक्स नेपाल परिवारका अध्यक्ष राजन खत्रीले गैँडाकोट हाफ म्याराथन स्थानीय नभई राष्ट्रिय र अन्तर्राष्टिय स्तरको प्रतियोगिता रहेको बताएका छन् । जिल्ला खेलकुद समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले यस्ता प्रतियोगिताले प्रतिभावान खेलाडी पहिचान गर्न सहयोग गर्ने बताएका छन् ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक कार्यमा विजय परिवार निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा समेत यस खालका कार्यक्रमलाई निरन्तरता दिइने बताए । खेलकुदले विकासका विभिन्न आयामलाई पनि अघि बढाउने हुँदा यस्ता प्रतियोगिता भइरहनुपर्नेमा उनको जोड छ ।

गैँडाकोटका चोक–चोकमा गैँडाकोटबासीले घडा स्थापना गरी धावकहरुलाई स्वागत गरेका थिए । ५० बढी चोकमा प्रहरी, ट्राफिक प्रहरी, विजय सामुदायिक र सरस्वती निकेतनका एनसीसी क्याडेट विद्यार्थीहरु स्वयंसेवकको रुपमा खटेका थिए । गैँडाकोट नगरपालिका, विजय परिवार, लामिनार टायल म्याराथनको सहयोगीका रुपमा रहेका थिए भने बैकुण्ठ मानन्धर स्पोर्टस क्लबले प्राबिधिक सहयोग गरेको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार