गैँडाकोट । पोखरामा आयोजना हुने गण्डकी इन्टर स्कुल टी–२० कप २०२६ क्रिकेट प्रतियोगितामा सहभागी हुन गैँडाकोटको विजय सामुदायिक शिक्षा सदनका विद्यार्थी खेलाडीलाई विद्यालयले मंगलबार विदाइ गरेको छ।
माछापुच्छ्रे स्पोट्र्स क्लबको आयोजनामा हुने प्रतियोगिताका लागि विद्यालय परिसरमा आयोजित विदाइ कार्यक्रममा विद्यालय परिवार तथा खेलकुद क्षेत्रका प्रतिनिधिले विद्यार्थी खेलाडीलाई सफलताको शुभकामना दिँदै अनुशासित भएर उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिएका छन्।
गैँडाकोट नगरपालिका वडा नं. ५ वडा खेलकुद विकास समितिका संयोजक दोर्णवन सन्न्यासीले प्रतियोगिता जित्नु मात्र खेलाडीको सफलता नभएको भन्दै अनुशासन, मेहनत र टिम भावना कायम राखेर खेल्नुपर्ने बताउनु भयो। संयोजक सन्न्यासीले विद्यालय र गैँडाकोटको नाम उच्च राख्ने गरी खेलका नियम तथा अनुशासन पालना गरेर खेल्न आग्रह गर्नुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष गोपीनाथ खरेलले विद्यालयको प्रतिनिधित्व गर्दै मैदानमा खेल्दा आफ्नो व्यक्तिगत प्रदर्शनसँगै विद्यालयको प्रतिष्ठा पनि जोडिएकोले खेलमा मात्र ध्यान दिएर खेल्न आग्रह गर्नुभयो। अध्यक्ष खरेलले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको विकास गर्न विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद गतिविधिलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक वीरभद्र सापकोटाले विद्यार्थीलाई जितको शुभकामना दिदै विद्यालयले अध्ययनसँगै विद्यार्थीको सर्वाङीण विकासका लागि खेलकुद, अनुशासन र असल संस्कारलाई समेत प्राथमिकता दिँदै आएको बताउनु भयो। प्रधानाध्यापक सापकोटाले खेलमा जित–हारलाई स्वाभाविक रूपमा स्वीकार गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
विद्यालयका सहायक प्राचार्य विकल सापकोटाका अनुसार विद्यालयको तर्फबाट १४ जना खेलाडी, प्रशिक्षक खिम मल्ल र विद्यालय समितिका तर्फबाट लक्ष्मण कार्की गरी १६ जनाको टोली पोखरा प्रस्थान गरेको छ।
विजय सामुदायिक शिक्षा सदनले प्रतियोगितामा आफ्नो पहिलो खेल आज खेल्नेछ।
विद्यार्थीको मेहनत र लगनशीलताले नै खेलकुदसँगै विद्यालयको पहिचानलाई समेत अझ बलियो बनाउने विश्वास विद्यालयले लिएको छ । बिदाई कार्यक्रमा वडा खेलकुद विकास समितिका सदस्य ईशा अधिकारी , विद्यालयका ब्यबस्थापक टिका कंडेल,राष्ट्रिय रेफ्रि गजेन्द्र वन ,अभिभावक लगायतको उपस्थिती रहेको थियो








