गैंडाकोट । स्थानीय सरकार र समुदाय बीच संवाद, समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले गैंडाकोटमा ‘समान आवाज’ (Equal Voice) कार्यक्रम अन्तर्गत अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ ।
द स्टोरी किचनको आयोजना, गैंडाकोट नगरपालिकाको सहकार्य तथा Coady Institute, Canada को प्राविधिक सहयोगमा र गैंडाकोट नगरपालिका वडा नं. ७ को संयोजनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम सहयात्री सामाजिक तथा आर्थिक विकास केन्द्र, नेपालको सभाहलमा आयोजना गरिएको थियो।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका वार्षिक तथा आवधिक नीति, योजना तथा कार्यक्रम, स्थानीय तहमा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको सहभागिता र उनीहरूको सवाललाई स्थानीय नीति तथा योजनामा समेटिएको विषयमा छलफल भएको थियो ।
गैडाकोट नगरपालिकाको उप प्रमुख शान्ती कोइरालाले महिलाले अवसरको प्रतीक्षा मात्र नगरी ‘म सक्छु’ भन्ने आत्मविश्वासका साथ नेतृत्वमा आउनुपर्ने बताउनुभयो । उप प्रमुख कोइरालाले हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहबाट उपलब्ध सेवा, सुविधा, बजेट तथा कार्यक्रमबारे जानकारी लिएर त्यसको प्रभावकारी र पारदर्शी उपयोग गर्न आग्रह गर्नुभयो। नयाँ नेतृत्व विकास र सक्रिय सहभागिताका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
गैडाकोट नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष होमनाथ सापकोटाले महिलाले ‘अरूले सक्दैनन्’ भन्ने सोचभन्दा ‘म सक्छु’ भन्ने आत्मविश्वासका साथ नेतृत्वमा आउनुपर्ने बताउनुभयो। वडाअध्यक्ष सापकोटाले वडा क्षेत्रमा बालविवाह, लागूऔषध, विद्यालयबाहिर रहेका बालबालिका तथा पारिवारिक समस्याका घटना बढ्दै गएको उल्लेख गर्दै कानुनी परामर्श र सेवासुविधामा नागरिकको पहुँच आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यक्रमले समस्या पहिचान र समाधानमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
अन्तर संवादका क्रममा सहभागीहरूले स्थानीय सरकारका नीति, योजना तथा कार्यक्रम समुदायसम्म प्रभावकारी रूपमा पु¥याउने तथा समुदायका आवश्यकता, सवाल र आवाज स्थानीय सरकारसम्म पु¥याउने विषयमा विचार तथा अनुभव आदानप्रदान गरेका थिए। साथै स्थानीय तहमा अर्थपूर्ण सहभागिता, समावेशी नेतृत्व र समुदाय–सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
‘समान आवाज’ कार्यक्रमले समान आवाज, समान अवसर र पूर्ण सहभागितामार्फत समावेशी नेतृत्व तथा उत्तरदायी स्थानीय शासन निर्माणतर्फ सहकार्यलाई निरन्तर अघि बढाउने उद्देश्य राखेको छ। गैंडाकोट नगरपालिकाले पनि नीति, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा समुदायसँगको संवाद तथा सहकार्यलाई महत्व दिँदै आएको छ। नगरपालिकाको आधिकारिक वेबसाइटमा पनि नीति तथा कार्यक्रम, योजना र सार्वजनिक सुनुवाइसम्बन्धी सामग्रीहरू सार्वजनिक गरिएका छन्।
कार्यक्रममा गैडाकोट नगरपालिकाको उप प्रमुख शान्ती कोइरालाको प्रमुख आतिथ्यता, वडा नं ७ का वडाध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि तथा समुदायका प्रतिनिधि, सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण गैँडाकोट नगरपालिकाका योजना शाखा प्रमुख तथा सूचना अधिकारी लीलाधर शर्माले गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण द स्टोरी किचनका नवलपुर जिल्ला संयोजक नर्मदा पाण्डेले गर्नुभएको थियो।










