spot_img

Thursday, April 30, 2026

जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जित्यो

काठमाडौं ।  नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपको उपाधि जितेको छ ।

विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस च्याम्पियन बनेको हो । वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रनमा अल आउट हुँदै पराजित भयो ।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए । आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका दुई स्पिनर सागर र ललितले आर्मीको पुरै टिमलाई अलआउट गरे ।  सागरले ६ र ललितले ४ विकेट लिए। प्लेयर अफ दि म्याच सागरले १४.२ ओभरमा १ मेडनसहित ३५ रन खर्चे। ललितले १५ ओभरमा २ मेडन राख्दै ३९ रन दिए ।

पुलिसले दोस्रो इनिङमा १ सय ३९ रन मात्र जोड्न सकेको थियो । पुलिसका लागि दोस्रो इनिङमा कुशल भुर्तेलले सर्वाधिक ४५ रन बनाए ।  दीलिप नाथले ३४ ,राशिद खानले १८ र अमित श्रेष्ठले १३ रन जोडे । पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि बसिर अहमद र साहब आलमले समान ५ विकेट लिए । आर्मीले पहिलो इनिङमा १ सय ७० रन बनाएर ३७ रनको सामान्य अग्रता लिएको थियो ।

आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५८ रन जोडे । उनले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । बसिर अहमद ४०, सोमपाल कामी ३२ तथा कप्तान विनोद भण्डारी १४ रन बनाए । पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चिएर ५ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित र गुलशन झाले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन जोडे । उनले ५६ बलमा ६ चौका प्रहार गरे । अर्जुन साउदले २८, अमित श्रेष्ठले २० र राशिद खानले १० रन बनाए ।

आर्मीका साहब आलमले १२.४ ओभरमा ३७ रन खर्चिएर ७ विकेट लिएका थिए । सोमपाल र बसिर अहमदले समान १ विकेट लिएका थिए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :