spot_img

Tuesday, March 25, 2025

गैँडाकोट नगरपालिकाको १४ औ नगरसभा सम्पन्न

पुष २७,गैँडाकोट । गैँडाकोट नगरपालिकाको १४ औ नगरसभा बिहीबार सम्पन्न भएको छ ।  गैँडाकोट नगरपालिका क्षेत्र भित्र पूर्वाधारका कामहरू तीव्र रुपमा भइरहेको नगर प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । यस अवधिमा १३ सय ७२ मिटर सडक कालोपत्रे भएको १५ हजार ११० मिटर सडकमा मर्मत कार्य भएको नगरप्रमुख अधिकारीले बताउनुभयो । विद्यालय भवन, सामुदायिक भवन, सत्तल, क्रियापुत्री भवन आदि गरि २४ वटा भवन सम्झौता भएकोमा ५ वटाको निर्माण सम्पन्न भएको छ । यस अवधिमा शिक्षा तर्फ कक्षा ४, ५ र ७ मा स्थानीय पाठ्यपुस्तक छपाइ गरि वितरण गरिएको, कृषि तर्फ किसान सूचिकरण कार्यक्रमको सञ्चालन गरि गैँडाकोट ७, ८ र ९ मा कार्य आरम्भ गरिएको, गैँडाकोट स्वास्थ्य चौकी र नगर अस्पतालमा प्रसुती सेवालाई प्रभावकारी बनाइएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब ९ करोड १५ लाख ४० हजार संशोधित बजेट प्रस्तुत गर्नुभएको थियो । यस अघि १ अर्व १ करोड ४२ लाख ५० हजार अनुमान बजेट रहेकोमा दीर्घ रोगीहरुका लागि आर्थिक सहयोग स्वरुप ३९ लाख ९० हजार थप भएको र अघिल्लो आ.ब.बाट बैंक मौज्दात बापत रकम रु ८० लाख संचित कोषमा जम्मा रहेको र चालु आ.व. मा अन्य सेवा शुल्क तथा विक्रिबाट थप ६ करोड ५३ लाख आय वृद्धि हुने अनुमान भएपछि बजेट संशोधन गरिएको उपप्रमुख कोइरालाले बताउनुभयो ।

१४ औँ नगरसभाले गैँडाकोट स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवालाई अस्पतालको मापदण्डको विस्तार गर्दै स्वास्थ्य विमा कार्यान्वयनमा ल्याउनका लागि पूर्वाधार निर्माणमा ४१ लाख बजेट, जयश्री खोलाको अधुरो पक्की पुल निर्माण कार्यका लागि ५० लाख बजेट लगायतका योजनामा बजेट विनियोजन गरिएको छ ।

१४ औँ नगरसभाले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ को दफा ११ को उपदफा ६, गैँडाकोट नगरपालिका खेलकुद विकास ऐन २०७९ को दफा ३ को उपदफा २ र दफा ४ को उपदफा १, दफा १० को उपदफा थ, दफा ११ को उपदफा घ मा रहेका केही बुँदाहरूमा संशोधन गरेको छ ।

यसैगरी गैँडाकोट नगरपालिकाको जलस्रोत व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९ मा खानेपानी तथा सरसफाई बोर्ड गठन गर्न सकिने व्यवस्थाप थप गरिएको छ । सामाजिक विकास समितिका रत्नप्रसाद सापकोटा र वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका प्रकाश सापकोटाले संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।


यसैगरी लेखा समितिका तर्फबाट देवीदत्त कंडेलले आ.व. २०७४/७५ र आ.व. २०७८/७९ का बेरुजु शिर्षकहरुलाई नियमित हुन सभामा पेश गर्नुभएको थियो ।


नगरसभामा तुलसीराम गौतम, द्रोणवन सन्यासी, सकिरा परियार, चन्द्रबहादुर विश्वकर्मा, ऋषिराम गौतम, गुरुप्रसाद पौडेल, निर्मला सुनार, डिल्लीराम सापकोटा, चन्द्रमाया सिँजाली लगायतले नगरबासीका चासो र सरोकारका विषय उठान गरेका थिए ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार