गैंडाकोट । नन्दन सामुदायिक वनको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार समुहको परिसरमा भएको कार्यक्रममा उपभोक्ता सदस्यहरूको लागि बिउबिजन बितरण गदै करेसाबारीमा उत्पादन गरेर विषाधी रहित ताजा तरकारी उपभोग गर्न प्रोत्साहन गरिएको थियो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सचिव मोहनराज काफ्लेले वर्षभरिमा कम्तीमा एक दिन भएपनि वनलाई समय दिन उपभोक्तालाई आग्रह गर्नुभयो । उहाँले महिलाहरूको नेतृत्वले पनि वनलाई हाँक्न सक्छ भन्ने उदाहरण नन्दन वनले देखाएको बताउनुभयो ।
त्यस्तै, डिभिजन वन कार्यालय नवलपुरका डिभिजन वन अधिकृत विष्णु अधिकारीले अब वनले जीविकोपार्जन सम्बन्धी उद्यम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सबडिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले अब वनले संरक्षणमुखीभन्दा पनि उत्पादनमुखी भई उद्यम विकासमा काम गर्नुपर्ने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य कमल पराजुलीले सामुदायिक वन गरिबी न्यूनीकरणका लागि जीविकोपार्जनसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले तालिमका लागि तालिम नभएर, तालिमबाट जीविकोपार्जन गर्न सक्ने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासँघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटाले समूहले एउटा सबल र सक्षम तरिकाले अफ्ना गतिविधिहरू उपभोक्ता सदस्यहरुको हितमा गरेको बताउनुभयो ।
नन्दन सामुदायिक वनको अध्यक्ष हरिमाया अधिकारीले हरियो वन नेपालको धन भन्ने नारालाई सार्थक बनाउन वनजङ्गललाई परम्परागत तरिकाले भन्दा आधुनिक तरिकाले वनको संरक्षण ,सम्बर्धन तथा विकास गर्दै जाने नीतिका लागि समूह प्रतिबद्ध रहेको बताउनुभयो ।अध्यक्ष अधिकारीले भन्नुभयो “वनले गरेका कामहरूको मूल्याङ्कन गर्दै सम्बन्धित निकायको मूल्याङ्कन तथा सिफारिसको आधारमा यस वर्ष “गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार ” बाट वनले सान्त्वना पुरस्कार पाउन सफल भएकोमा सदस्यहरूसँग खुसी साट्न चाहन्छौ”।
कार्यक्रममा समूहका सचिव कमला शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनको संरक्षण सम्बर्धन र विकास कार्यक्रम, वन पैदावार सदुपयोग कार्यक्रम, गरिबी न्यूनीकरण महिला सशक्तिकरण तथा उद्यम विकास कार्यक्रम सामुदायिक विकास कार्यक्रम ,ढवाहताल पर्या पर्यटन पूर्वाधार निर्माण कार्यक्रम र वन संरक्षण तथा विकास जस्ता कार्यक्रम समूहले सञ्चालन गरेको जानकारी दिनुभयो।
त्यस्तै, समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष डिला शर्मा सुबेदीले आर्थिक वर्ष ०८१/०८२ को आय-व्यय विवरण र प्रस्तावित आम्दानी-खर्च प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष शर्माले वनको आम्दामीको रूपमा ढवाहताल पर्या पर्यटनलाई पनि अघि बढाएको बताउनुभयो। कोषाध्यक्ष शर्माले जीविकोपार्जन अन्तर्गतका कार्यक्रम स्थानीय सरकारको सहकार्यमा गर्दा एकद्वार प्रणालीबाट वास्तविक विपन्न समूह सम्म पुगेको बताउनुभयो । उहाँले वन संरक्षण र डडेलो नियन्त्रणमा अग्निदस्ता परिचालन गरी छोटो समयको रोजगारीको सिर्जना गरेको पनि बताउनुभयो।
लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक माधव न्यैपानेले वन समूहले गरेका कामहरूको प्रशंसा गर्दै सुझाव दिनुभएको थियो । संयोजक न्यौपानेले समूहको पर्यापर्यटन तथा जैविक विविधता, सिमसार संरक्षण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखी समूहको आर्थिक गतिविधि बढाउन सुझाव दिनुभयो। न्यौपानेले समूहले आर्थिक कारोबारहरू विधान कार्ययोजना र प्रचलित ऐन कानुनको परिधिभित्र रही कारोबार गरेको बताउनुभयो।
त्यस्तै स्वःअनुगमन तथा मूल्यांकन समितिका संयोजक झलक राज शर्माले समूहको सकारात्मक पक्षहरूको चर्चा गर्दै सुधारात्मक पक्षलाई औँलाउनुभएको थियो। उहाँले विद्युत प्रसारण लाइन मुनिको खाली ठाउँमा घात गद्दी स्थल निर्माण गर्नुपर्ने, धवाह ताल जाने गेटदेखि रजत स्तम्भ हुँदै पिकनिक स्पोट सम्म जाने बाटो व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा समूहका पूर्व अध्यक्ष घनश्याम कँडेल, सम्पूर्ण सामुदायिक वनकोतर्फबाट मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा, उपभोक्ताको तर्फबाट डिलाराम सापकोटा, टोल विकासको तर्फबाट पद्मादेवी पद्मा सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा समूहका पूर्व अध्यक्ष बालकृष्ण गौडेल, गैंडाकोट वार्ड नं २ का अध्यक्ष प्रकाश सापकोटा ,गैंडाकोट वडा नम्बर ६ का वडा अध्यक्ष सुभाष चापगाईं ,नारायणी सामुदायिक वनका अध्यक्ष नेत्रराज सापकोटा, जय श्री सामुदायिक वनको अध्यक्ष भीमबहादुर कुमाल, स्थानीय वन महासंघ अध्यक्ष निर्मला कँडेल लगायत बुद्धिजीवी, समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
नन्दन सामुदायिक वन समूहका उपाध्यक्ष नरजंग रानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव कमला शर्माले गर्नुभएको थियो ।
सो अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक झलकराज शर्माले समूहको सकारात्मक पक्षहरूको चर्चा गर्दै सुधारात्मक पक्षलाई औँला आउनुभएको थियो। उहाँले विद्युत प्रसारण लाइन मुनिको खाली ठाउँमा घात गद्दी स्थल निर्माण गर्नुपर्ने धवाताल जाने गेटदेखि रजत स्तम्भ हुँदै पिकनिक स्पोटसम्म जाने बाटो व्यवस्थित गर्नुपर्ने बताउनुभयो










