नवरात्रीको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा

असोज १८,काठमाडौँ । नवरात्रीको दोस्रो दिन शुक्रबार दसैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा—आराधना गरिँदै छ।

दसैंको पहिलो दिन बिहीबार घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो।

Article Inline 2

घटस्थापनाकै पहिरो दिन नव दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ।

नवरात्रीका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीकाजमराका रूपमा लगाइन्छ।

नवरात्रीका अवसरमा विभिन्न शक्ति पीठहरूमा दर्शनार्थीको घुइँचो लाग्छ। काठमाडौंको शोभा भगवती, गुह्वेश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, जोरपाटीको चामुण्डा भगवती आदि मन्दिरमा विशेष पूजाअर्चना हुनेगर्छ। नवमीको दिन हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा विशेष पूजाआराधना हुने गरेको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :