काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल जितबाट चुकेको छ ।
नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २–२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो । पाँच खेलमा गोलविहिन नेपालले २ गोल गर्न सफल भयो ।
नेपालका लागि फरवार्ड सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १–१ गोल गरे । दुवै खेलाडीका लागि गोल अन्तराष्ट्रिय करियरको पहिलो गोल हो ।
नवौं मिनेटमा पेनाल्टी मार्फत गोल खान पुगेको नेपालले २३ औं मिनेटमा बराबरी गोल गरेको थियो । एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीव विष्टले बक्स भित्रबाट खेलमा बराबरी गोल गरे ।
६६औं मिनेटमा नेपालले खेलमा अग्रता दियो । छिरिङ लामाको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भयो । तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनका मोहम्मद अल-दाहीले गोल गर्दै नेपालबाट एक अंक खोसे ।
नेपालले समूहमा ६ खेलमा १ अंक सहित दोस्रो चरण समाप्त गरेको छ । नेपाल रहेको समूह एच मा युएईले १६ अंक सहित पहिलो, बहराइन ११ अंक सहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । यस्तै ५ अंक सहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।