जेठ २५,गैँडाकोट । मुहानदेखि मुखसम्मको प्रक्रियामा खानेपानीको सुरक्षाका लागि सबै पक्ष सतर्क र सचेत रहन आवश्यक भएको विद्यार्थीहरूले बताएका छन् ।
गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बिहिबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले यस्तो बताएका हुन । गैँडाकोट पम्पीङ्ग स्कीम खानेपानीको सेवा क्षेत्रभित्रका विद्यालहरूबाट २१ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कालिका नमुना माध्यमिक विद्यालयकी सृष्टि पोख्रेल प्रथम हुनुभयो । सरस्वती निकेतनकी हिल्सन पौडेल द्वितीय, साइनिङ ईङ्गलिस बोर्डिङ स्कूलकी सिर्जना क्षेत्री तृतीय र विजय सामुदायिक शिक्षा सदनकी रेजिना मिश्रले चौथो स्थान हासिल गर्नुभएको छ ।
सुरक्षित पानी स्वस्थ जीन्दगानी विषयमा आफ्ना भनाइ प्रस्तुत गर्दै विद्यार्थीहरूले पानी नपिउँदा पनि मानिसको जीवन नहुने र असुरक्षित पानी पिउँदा पनि मानिसको जीवन संकट तर्फ धेकेलिन सक्ने भन्दै पानीको सुरक्षाका सन्दर्भमा सरोकारवालाहरूलाई सचेत गराएका छन् ।
प्रतियोगितामा सहभागि सबै विद्यालयलाई आयोजक संस्थाले डस्टविन हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद न्यौपानेले खानेपानीको सुरक्षाका सन्दर्भमा संस्था सदैव संवेदनशील र सचेत रहेको छ । आगामी दिनमा समुदायमा सचेतनाका विविध कार्यक्रम गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका संयोजक, सुरक्षा समितिका संयोजक कृष्णप्रसाद काफ्लेले खानेपानीको सुरक्षाको विधि र तरिका विद्यार्थीबाट प्रत्येक विद्यालयमा, विद्यालयबाट प्रत्येक घरघरमा पुग्ने हुँदा यस किसिमको सचेतनामूलक कार्यक्रम गरिएको संयोजक काफ्लले बताउनुभयो ।
निर्वाचन मण्डलको संयोजकमा गैँडाकोट पम्पिङ्ग खानेपानीका संस्थापक सचिव तथा सामाजिक व्यक्तित्व गोविन्द सुवेदी, सामाजिक तथा शैक्षिक व्यक्तित्व तिलकप्रसाद पराजुली, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय रहनुभएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव केशवराज पौडेल र संस्थाका निमित्त व्यवस्थापक अशोक तिवारीले गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरुलाई संस्थाका सदस्य लक्ष्मी लामिछाने पोख्रेलले स्वागत गर्नुभएको थियो । कार्यक्रम सुरक्षा समितिका संयोजक कृष्णप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।