single head

नयाँ नयाँ अनुसन्धान भएका छन् तर कृषकको खेतबारीसम्म पुगेको छैन भने त्यो अनुसन्धान गरेको के अर्थ ?-कृषिमन्त्री

single post top 1

माघ २२, काठमाडौँ । कृषि तथा पशुपन्छीको क्षेत्रमा भएका अध्ययन तथा अनुसन्धानका विषय कृषकसमक्ष नपुगेको गुनासो आउने गरेको छ ।

single p1

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूले अनुसन्धान गरेका हुन्छन् तर ती दराजमै तथा अनुसन्धान केन्द्रमै सीमित भएको गुनासो आइरहेका छन् ।

single p2

यस्तो गुनासो कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पनि गर्नुभएको छ । उहाँले पनि कृषि तथा पशुपन्छीको क्षेत्रमा महत्वपूर्ण अनुसन्धान भएका छन् तर त्यो कृषकसमक्ष नपुगेको गुनासो गर्नुभयो । त्यसले गर्दा उत्पादनमा प्रभाव परेको उहाँले बताउनुभयो ।

“प्रतिहेक्टर आठ टन उत्पादन हुने धानको जात नेपालमा विकास भएको छ तर हालसम्म जनतासमक्ष पुगेको छैन”, मन्त्री भुसालले भन्नुभयो, “धानमा मात्र होइन, अन्य खद्यान्न, फलफूल तथा तरकारीका लागि नयाँ नयाँ अनुसन्धान भएका छन् तर कृषकको खेतबारीसम्म पुगेको छैन अनि त्यो अनुसन्धान गरेको के अर्थ ?”

नार्क अन्तर्गतको तरकारीमा लाग्ने माटोजन्य रोगहरूको व्यवस्थापनबाट कृषकको जीविकोपार्जन तथा खाद्य सुरक्षा परियोजनाले आइतबार आयोजना गरेको तरकारी प्रजनन् सम्बन्धी विशेष तालिम कार्यक्रममा मन्त्री भुसालले चीनमा प्रतिहेक्टर सात टन धान उत्पादन हुन्छ, त्यही भएर आत्मनिर्भर छ, नेपालमा पनि त्यस्तै जातको विकास भएको छ तर किसानसमक्ष नपुगेको बताउनुभयो ।

“अहिले नेपालमा प्रतिहेक्टर ३.७ टन धान उत्पादन हुन्छ, यो उत्पादनले मात्र धानमा आत्मनिर्भर हुन सकिँदैन”, उहाँले भन्नुभयो, “नयाँ नयाँ धानका जातको विकास भएकै हो त तर किसानले त्यो किन प्रयोगमा ल्याएका छैनन् ? नयाँ नयाँ जातका धान नलगाएसम्म आत्मनिर्भर हुन सकिँदैन ।” तालिम लिएका तथा अनुसन्धान गरेका विषयवस्तु जनतासमक्ष कसरी पुर्‍याउन सकिन्छ, त्यसका बारेमा पनि विचार गर्न उहाँले आग्रह गर्नुभयो ।

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले अनुसन्धान तथा विकास गरेको जात किसानसमक्ष पुर्‍याउने कार्य नार्कको नरहेको बताउनुभयो । उहाँले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “नार्कले अनुसन्धान गर्ने हो, अनुसन्धान गरेको कुरा किसानसमक्ष पुर्‍याउने काम कृषि विभागको हो ।” कृषि विभागले प्रदेशसँग समन्वय गर्दै स्थानीय तहमा पुर्‍याउने हो तर समन्वयको अभावका कारण अनुसन्धान गरेको कुरा किसानसमक्ष नपुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला जिल्ला कृषि विकास कार्यालय हुँदा अनुसन्धान गरेको तथा विकास गरेको कुरा किसानसमक्ष पुर्‍याउन सजिलो हुन्थ्यो तर अहिले जिल्ला कृषि विकास नहुँदा स्थानीय तहमार्फत किसानसमक्ष जानुपर्नेमा समन्वयको अभावका कारण त्यो हुन नसकेको हो ।” नार्कले नयाँ नयाँ प्रविधिको विकास गरेको छ तर विभिन्न स्टेसन (फार्म) मा थन्केर बसेको बताउँदै उहाँले पछिल्लो समय नार्कले किसानलाई बोलाएर तालिम दिने, अनुसन्धानका बारेमा जानकारी दिँदै आएको छ ।

कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले नार्कले गरेको अनु्सन्धानका हरेक कुरा किसानसमक्ष पुर्‍याउने जिम्मेवारी कृषि विभागको मात्र नरहेको बताउनुभयो । अहिले त्यस्ता विभिन्न निकाय छन् जोसँग समन्वय गरेर पठाउन सकिन्छ तर विभिन्न कानुन, नीति नियमको जटिलताका कारण गाह्रो भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नार्कले पनि प्रदेश, स्थानीय तहसँग समन्वय गरेर अनुसन्धानका विषय कृषकसमक्ष पुर्‍याउन सक्छ तर त्यस्तो भएको देखिँदैन ।”

नार्कले अनुसन्धान गरेका कतिपय कुरा कृषकसमक्ष पुगेको बताउँदै उहाँले भन्नुभयो, “नार्कले विकास गरेको सिर्जना जातको गोलभेँडा देशभर गएको छ तर कतिपय यस्ता अनुसन्धान छन्, जो किसानले रुचाएका छैनन्, त्यसले पनि किसानसमक्ष नपुगेको हुनु पर्छ ।”  गोरखापत्र अनलाइन

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3