गैँडाकोट। नवलपुरमा पहिलोपटक आयोजना गरिएको ‘प्रथम नवलपुर लोकतारा–२०८३’ को उपाधि विनयी त्रिवेणी गाउँपालिकाका जीवन परियारले जितेका छन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा शनिबार गैंडाकोटमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा गैँडाकोट नगरपालिकाका सुखबहादुर सुनार द्वितीय र बौदीकाली गाउँपालिकाकी सङ्गीता खाती तृतीय भएका छन्। देवचुलीकी पूर्णिमा सुनारले सान्त्वना स्थान हासिल गरेकी छन्।
त्यसैगरी बुलिङटारका याम नेपाली उत्कृष्ट गायक र हुप्सेकोट गाउँपालिकाकी देवी मगर उत्कृष्ट गायिका घोषित भएका छन्।
प्रतियोगितामा प्रथम हुनेले ३१ हजार १ सय ३१ रुपैयाँ, द्वितीय हुनेले २१ हजार १ सय २१ रुपैयाँ, तृतीय हुनेले ११ हजार १११ रुपैयाँ र सान्त्वना हुनेले ५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
जिल्लाका आठवटै स्थानीय तहबाट छनोट भएर आएका प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा भएको थियो। जिल्लाभित्र रहेका लोक तथा दोहोरी गीतका प्रतिभाको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य विन्दु पौड्यालले जिल्लामा लुकेर रहेका लोक तथा दोहोरी गीतका प्रतिभालाई पहिचान गरी राष्ट्रियस्तरसम्म पुर्याउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले नेपाली मौलिक लोकसंस्कृति र लोकगीतको संरक्षण तथा प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरेले नवलपुरका आठवटै स्थानीय तहमा रहेका प्रतिभालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले प्रतियोगिताले नयाँ प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लाको लोकसंगीत क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, संस्थापक महासचिव तेजबहादुर केसी, संस्थापक कोषाध्यक्ष शान्ता न्यौपाने, वरिष्ठ उपाध्यक्ष दीपक खड्का, प्रथम उपाध्यक्ष सुभाष केसी र द्वितीय उपाध्यक्ष रमेशराज भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको सञ्चालन अर्जुन कँडेल र ज्योति न्यौपानेले गर्नु भएको थियो भने प्रतियोगिताको कार्यक्रम संयोजक शान्ति कँडेल रहनु भएको थियो ।









