चितवन । चितवनको प्रमुख व्यापारिक केन्द्र नारायणगढमा करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा अत्याधुनिक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन तथा रेस्टुरेन्ट सहितको एक्टिभ ईभी हब एण्ड क्याफे (Active EV Hub & Cafe) सञ्चालनमा आएको छ। आईतवार एक्टिभ ईभी हब एण्ड क्याफेको उद्घघाटन ३ जना कन्याहरु द्वारा रिवन काटेर गरिएको थियो ।
भरतपुर महानगरपालिका–३, पुलचोकस्थित मुख्य सडकबाट करिब १०० मिटर भित्र, वडा प्रहरी कार्यालय नारायणगढ नजिकै सञ्चालनमा आएको यस हबमा एकैपटक धेरै विद्युतीय सवारीसाधन चार्ज गर्न सकिने गरी १० वटा चार्जिङ गर्ने व्यवस्था गरिएको छ।

चार्जिङ स्टेसनमा GB/T र CCS2 दुवै प्रविधिका फास्ट चार्जर जडान गरिएका छन्। यी प्रविधिले विभिन्न ब्रान्ड तथा मोडलका उपयुक्त विद्युतीय सवारीसाधनलाई छिटो र सहज रूपमा चार्ज गर्न सहयोग पु¥याउनेछन्।
विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई चार्जिङसँगै आराम र खानपानको सुविधा उपलब्ध गराउने उद्देश्यले हब परिसरमै सुविधासम्पन्न क्याफे तथा रेस्टुरेन्टसमेत सञ्चालन गरिएको छ।
Charge, Refresh, Go भन्ने नाराका साथ सञ्चालनमा आएको एक्टिभ ईभी हब एण्ड क्याफेले विद्युतीय सवारीसाधन चार्जिङ र खानपानको सुविधालाई एकै स्थानमा समेटेको छ। सवारीसाधन चार्ज भइरहेका बेला ग्राहकले रेस्टुरेन्टमा बसेर खानपान तथा आराम गर्न सक्नेछन्।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको अवस्थामा यस्ता चार्जिङ पूर्वाधारको विस्तारले स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्नुका साथै विद्युतीय सवारीसाधन प्रयोगकर्ताको यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।









