गैंडाकोट ( अजय पौडेल)। नेपाली कांग्रेस गैंडाकोट नगरपालिका–५ को नवनिर्वाचित वडा कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरिएको छ। पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो।
कार्यक्रममा निर्वाचन अधिकृत काशिनाथ पोख्रेलले नवनिर्वाचित वडा सभापति लक्ष्मण कार्कीसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा गण्डकी प्रदेश सदस्य ण बन सन्यासीले पार्टीका आगामी गतिविधि जनतासँग केन्द्रित र स्थानीय निर्वाचन लक्षित हुनुपर्नेमा जोड दिँदै वडा तहदेखि नै संगठन सुदृढ बनाउनुपर्ने बताउनुभयो।त्यसैगरी, केन्द्रीय महाधिवेशन प्रतिनिधि शान्ति न्यौपाने तथा नेपाली कांग्रेस गैंडाकोट नगर उपसभापति गोविन्दप्रसाद घिमिरेले पार्टीभित्र एकता, सहकार्य र आपसी समन्वय कायम गर्दै संगठनलाई थप मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो।
नवनिर्वाचित वडा सभापति लक्ष्मण कार्कीले सबै नेता तथा कार्यकर्तालाई समेटेर पार्टी संगठनलाई व्यवस्थित र क्रियाशील बनाउने तथा आगामी स्थानीय निर्वाचनमा पार्टीलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा संगठन निर्माण तथा स्थानीय तहमा पार्टी गतिविधिमा योगदान पु¥याउँदै आएका १९ वटै टोलका सभापतिहरूलाई सम्मानसमेत गरिएको थियो।
वडा सभापति लक्ष्मण कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण निवर्तमान सचिव किरणकुमार केसीले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।









