गैँडाकोट । एम्स एब्रोड एजुकेसन गैँडाकोटले जापान जान लागेका विद्यार्थीहरूका लागि जापानसम्बन्धी शैक्षिक परामर्श कार्यक्रम गरेको छ।
सोमबार गैँडाकोट नगरपालिका–५ स्थित कालीगण्डकी चोकमा रहेको एम्स एब्रोड एजुकेसनको सभाहलमा आयोजित कार्यक्रममा गैँडाकोट नगर खेलकुद विकास समितिका पदाधिकारीलाई सम्मान गरिएको हो भने जापान जान लागेका विद्यार्थीहरूलाई जापानमा अध्ययन तथा बसाइका क्रममा आइपर्न सक्ने समस्या, समाधानका उपाय तथा आवश्यक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा गैँडाकोट नगरपालिका–२ का वडा अध्यक्ष प्रकाश सापकोटाले वैदेशिक अध्ययन तथा रोजगारीका लागि विदेश जानुपर्दा आधिकारिक र कानुनी रूपमा सञ्चालन भएका संस्थामार्फत मात्रै सेवा लिन आग्रह गर्नुभयो। उहाँले सकेसम्म स्वदेशमै अवसर खोज्नुपर्ने र विदेश जानैपर्ने अवस्था भए विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई नेपाल फर्किएर सदुपयोग गर्नुपर्ने बताउनुभयो।
जापानसम्बन्धी परामर्शका क्रममा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका सञ्चालक वाइबी पौडेलले जापानमा विद्यार्थीहरूले सामना गर्न सक्ने समस्या, समाधानका उपाय तथा जापान पुगेपछि गर्नुपर्ने कामका विषयमा जानकारी गराउनुभयो।
एम्स एब्रोड एजुकेसनका सञ्चालक कृष्ण कँडेलले विद्यार्थीहरू भाषा र आवश्यक सीपमा दक्ष भएर जापान गएमा अध्ययन तथा बसाइ सहज हुने बताउनुभयो। उहाँले जापानका लागि सीओई प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै आवश्यक दर्ता तथा कानुनी प्रक्रिया पूरा गरी शैक्षिक परामर्श सेवा सञ्चालन गरिरहेको बताउनुभयो।
गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले एम्सले खेलकुद विकास समितिलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गदै संस्थाले खेलकुद क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो।
नगर खेलकुद विकास समितिका सदस्य डिलकुमारी घिमिरेले गैँडाकोटमा खेलकुदको विकासका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले खेलाडी र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।
गरिमा विकास बैंक गैँडाकोटका क्रेडिट इन्चार्ज विश्वभूषण श्रेष्ठले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूले बैंकिङ प्रक्रिया मार्फत प्राप्त गर्न सक्ने शैक्षिक ऋण तथा बैंकिङ सुविधाका विषयमा जानकारी गराउनुभयो।
कार्यक्रममा गैँडाकोट शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत रामप्रसाद अधिकारी, कम्प्युटर अपरेटर नेहाल गौतम, एम्स एब्रोड एजुकेसनका कर्मचारी, खेलकुदप्रेमी, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विज्ञानपुरी र सुलभ लामिछानेले जापानी तथा नेपाली भाषामा स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण एजुकेसनका काउन्सिलर दिनेश पण्डितले गर्नुभएको थियो।








