single head

मौलाकाली सामुदायिक वनको २४ औँ साधारण सभा सम्पन्न, वन संरक्षणसँगै उद्यमशीलतामा जोड

single post top 1

गैँडाकोट । गैँडाकोट–१ मा रहेको मौलाकाली सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। वन कार्यालय परिसरमा आयोजित साधारण सभामा वन संरक्षणसँगै गरिबी निवारण, महिला सशक्तीकरण, उद्यमशीलता र उपभोक्तामैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।

single p1

कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले सामुदायिक वनहरूले वन ऐन तथा नियमावलीको प्रावधानअनुसार गरिबी निवारण, महिला सशक्तीकरणलगायतका कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। उहाँले मौलाकाली सामुदायिक वनले वार्षिक कार्यक्रमअनुसार उत्कृष्ट कार्यसम्पादन गर्दै आएको उल्लेख गर्नुभयो।

single p2

गैँडाकोट नगरपालिका–१ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले मौलाकाली केवलकारमा सामुदायिक वनका उपभोक्तालाई ७५ प्रतिशत छुट उपलब्ध गराउने विषयमा प्रस्ताव अघि बढाउन संस्थालाई सुझाव दिनुभयो।त्यस्तै, सामुदायिक वन उपभोक्ता प्रदेश महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले सामुदायिक वनका उपभोक्ता विभिन्न प्रकृतिका करका कारण समस्यामा परेको बताउँदै महासंघ उपभोक्ताको हकहित संरक्षणका लागि निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो।

सब डिभिजनल वन कार्यालय गैँडाकोटका वन अधिकृत सन्तोष मिश्रले वन संरक्षण तथा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। मौलाकाली सामुदायिक वनका पूर्वअध्यक्ष एवं सल्लाहकार शालिकराम सापकोटाले विभिन्न उपसमिति तथा समितिबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो।

मौलाकाली मन्दिरका अध्यक्ष खगराज कँडेलले मौलाकाली मन्दिर जाने सिँढी मार्गमा फूलका बिरुवा रोपेर त्यस क्षेत्रको सौन्दर्य बढाउन सामुदायिक वनसँग आग्रह गर्नुभयो। शैक्षिक व्यक्तित्व इन्द्रराज भट्टराईले सामुदायिक वनले नेराश, नवदुर्गा र महेन्द्र स्मारक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उपभोक्ता गिरिराज लम्सालले वन समूहले पारदर्शिता कायम गर्दै उपभोक्तालाई सहज रूपमा सूचना उपलब्ध गराई सेवा प्रवाह गर्दै आएकोमा प्रशंसा गर्नुभयो। अर्का उपभोक्ता अम्बिका लम्सालले सामुदायिक वनले वन संरक्षणसँगै गरिबी निवारण, महिला सशक्तीकरण तथा उपभोक्ताको करेसाबारीमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको बताउनुभयो।

आम्दानी १ करोड ४ लाख, खर्च ७४ लाख

साधारण सभामा सचिव इन्दिरा शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मौलाकाली सामुदायिक वनले वन संरक्षणमा मात्र सीमित नभई उपभोक्तालाई लक्षित गर्दै उद्यमशीलताका कार्यक्रमसमेत अघि बढाउँदै आएको जानकारी दिनुभयो।

कोषाध्यक्ष धना पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल आम्दानी १ करोड ४ लाख २२ हजार रुपैयाँ र कुल खर्च ७४ लाख ९ हजार ५ सय २० रुपैयाँ रहेको जानकारी दिनुभयो।

सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सदस्य बाबुराम पराजुली तथा अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदन पदमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष भगवान घिमिरेले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समूहका सचिव इन्दिरा शर्माले गर्नुभएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष डिलाराम कँडेलको समेत उपस्थिति रहेको थियो।

साधारण सभाको अध्यक्षता समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले गर्नुभएको थियो। उहाँले संस्था उपभोक्ताको आवश्यकता, विधि र विधानलाई आत्मसात् गर्दै आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3