single head

जनक नमुना मा विमा प्रशंसनीय अभ्यासको सुरुवात ।

single post top 1

गैंडाकोट, भाद्र १७ गते । गैंडाकोटस्थित जनक नमुना माध्यमिक विद्यालयले परीक्षा प्रणालीमा एक नवीन र प्रशंसनीय अभ्यासको सुरुवात गरेको छ। विद्यालयले कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरूका लागि आयोजना गरेको परीक्षामा चिटलेस (मर्यादित) र गार्डलेस (निरीक्षकविहीन) प्रयोग सफल पारेको हो। ​परीक्षाहलमा विद्यार्थीहरूलाई अनुगमन गर्न कुनै पनि निरीक्षक राखिएको थिएन। परीक्षा अवधिभर कुनै पनि अमर्यादित वा अवाञ्छनीय गतिविधि नभई शतप्रतिशत इमानदारीका साथ परीक्षा सम्पन्न भएको विद्यालयका विज्ञान संकाय तर्फका कार्यक्रम संयोजक नारायण तिवारीले बताउनुभएको छ । संयोजक तिवारीका अनुसार विद्यार्थीहरूमा आत्म–अनुशासन, नैतिक दायित्व र इमानदारीको विकास गराउने उद्देश्यले यो कदम चालिएको हो। विज्ञान जस्तो गहन र व्यावहारिक विषयमा आफ्नै क्षमतामा विश्वास गरेर परीक्षा दिन पाउनुले विद्यार्थीहरूको वास्तविक मूल्यांकनमा सहयोग पुग्ने विश्वास लिएको विद्यालयका प्रधानाध्यापक वुद्धिसागर पण्डितले बताउनुभयो । गार्ड नबस्दा पनि पूर्ण मर्यादित वातावरणमा आ–आफ्नो उत्तरपुस्तिकामा आफ्नो क्षमता अनुसार विद्यार्थीहरूले लेखेको र हामीले विद्यार्थीमाथि गरेको विश्वासलाई उनीहरूले कायम राखेर एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेको संयोजक तिवारीले बताउनुभयो । विद्यालयका शिक्षक एवम् विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि दीपक ढुङ्गानाले ​यस प्रकारको निरीक्षकविहीन परीक्षा अभ्यासले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै परम्परागत परीक्षा प्रणालीमा रहेको त्रास र कडाइको सोचलाई बदलेको बताउनुभयो । जनक नमुना मा वि मा भएको यस्तो खालको प्रयोग एउटा अनुकरणीय र प्रेरणादायी मोडल भएको विद्यार्थी प्रज्ज्वल सागर पौडेलले प्रतिक्रिया दिनुभयो । यस प्रकारको परीक्षा मोडेलले आफूहरुको क्षमतामा वृद्धि हुने र परीक्षा प्रतिको धारणामा सकारात्मक परिवर्तन आउने विद्यार्थी पौडेलले बताउनुभयो । यसैविच उक्त परीक्षाको आफ्नै कार्यकक्षमा बसी सिसी क्यामेरामार्फत बेलाबेलामा निरीक्षण गरिएको तर विद्यार्थीहरुमा देखिएको अनुशासनले आफूलाई थप उत्साहित बनाएको पनि संयोजक तिवारीले बताउनुभयो । उक्त परीक्षाको अवलोकन गर्दै विद्यालयका सहायक प्रधानाध्यापक हिमालदेव पंगेनीले विद्यार्थीउहरुको लगनशीलता र परीक्षाप्रतिको सकारात्मक धारणाले आफू पनि थप उत्साहित भएको प्रतिक्रिया दिनुभयो । विद्यालयले उक्त परीक्षामा सबै विद्यार्थीहरुलाई एउटै किसीमको प्रश्नपत्र दिएको भएपनि परीक्षा थप मर्यादित भएको भन्दै कार्यक्रम संयोजक तिवारीले परीक्षा सञ्चालनमा धेरै जनशक्ति पनि आवश्यक नपर्ने बताउनुभयो । साथै उहाँले आगामी दिनमा अझै नयाँ किसीमका परीक्षाका मोडेलहरु प्रयोगमा ल्याउने पनि बताउनुभयो ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3