काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७ करोड रुपैयाँ लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा आएको छ। नेपाली मौलिक कला, संस्कृति, लोकसंगीत तथा रोधी परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको क्लबको भव्य उद्घाटन भदौ ५ देखि ७ गतेसम्म विशेष सांगीतिक कार्यक्रमसहित हुने भएको छ।
क्लबले मंगलवारआयोजना गरेको पत्रकार सम्मेलनमार्फत ग्रान्ड ओपनिङका बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा क्लबको उद्देश्य, लगानी, व्यवस्थापन, सेवा–सुविधा तथा उद्घाटनका अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमबारे जानकारी दिइएको थियो। ग्रान्ड ओपनिङका अवसरमा नेपाली मौलिक कला, संस्कृति र लोकदोहोरीको भव्य उत्सवसहित ‘दोहोरीको मेला’ जस्तै विशेष सांगीतिक माहोल सिर्जना गरिनेछ, जहाँ नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति क्लबले जनाएको छ।
उद्घाटन कार्यक्रममा अभिनेता पल शाह, अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा, प्रेमराजा महत, कृष्ण कँडेल, राजु परियार, शिला आले, बद्री पंगेनी, चन्द्र शर्मा, पशुपति शर्मा, प्रकाश सपुत, बसन्त थापा, विश्व दोङ, ज्योति मगर, दीपिका बयम्बु मगर, अर्जुन सापकोटा, प्रीति आले, एलिना चौहान, श्याम राना, शान्ति रानी परियारलगायतका २ दर्जन बढी कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। करिब २०० जना अट्ने क्षमता रहेको क्लबमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, स्तरीय सेवा तथा पारिवारिक वातावरणलाई विशेष प्राथमिकता दिइएको छ।
क्लबले १०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गरेको जनाएको छ। टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरी लामो समयदेखि दोहोरी तथा रोधी व्यवसायमा सक्रिय छन्। करिब २५ वर्षअघि सिन्धुपाल्चोकको मेलम्चीबाट सामान्य गाउँले युवाका रूपमा काठमाडौं प्रवेश गरेका गिरीले बाउन्सरदेखि दोहोरी साँझको व्यवस्थापन हुँदै आफ्नो व्यवसायिक यात्रा अघि बढाएका हुन्।
संघर्षका विभिन्न चरण पार गर्दै सानो लगानीबाट व्यवसायिक यात्रा सुरु गरेका गिरी अहिले करिब ७ करोड रुपैयाँ लगानीको रोधी क्लब सञ्चालन गर्ने अवस्थामा पुगेका छन्। निरन्तर मेहनत, लगनशीलता र व्यवसायप्रतिको प्रतिबद्धताले आफूलाई यो अवस्थामा पुर्याएको उनी बताउँछन्। गिरीले सञ्चालन गरेका विभिन्न रोधी तथा दोहोरी साँझबाट दर्जनौं कलाकारले आफ्नो सांगीतिक यात्रा अघि बढाउने अवसरसमेत पाएका छन्।
पत्रकार सम्मेलन कार्यक्रममा टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष दीपक खड्काको उपस्थिति रहेको थियो। भदौ ५ देखि ७ गतेसम्म हुने ग्रान्ड ओपनिङलाई नेपाली कला, संस्कृति, लोकसंगीत र मनोरञ्जनको विशेष उत्सवका रूपमा आयोजना गरिने टप दरबार रोधी क्लबले जनाएको छ।








